Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

ललिता निवास प्रकरण : तेस्रो दिन पनि मुद्दा हेर्दा हेर्दै, बिहीबार जवाफी बहसपछि फैसला

काठमाडौं- ललिता निवास प्रकरणमा तेस्रो दिन पनि बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा रहेको मुद्दामा निवेदकका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेको छ।

बुधबार सरकारी वकिलहरुले बन्दीको निवेदन, यसअघि १७ जनाले दायर गरेको रिटमा बहस गर्दै सरकारको भ्याकेटका बारेमा इजलासमा बहस गरेका थिए। 

बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेलले पनि सरकारको बचाउमा बहस गरे। पोखरेलले बालुवाटारको सरकारी जग्गा उच्च पदस्थ व्यक्तिहरुको मिलेमतोमा कीर्ते गरी व्यक्तिको बनाउने फौजदारी अपराध गरेको र त्यसमा अनुसन्धानका लागि पक्राउ गरिएकाले सबै रिट र निवेदन खारेज हुनुपर्ने दाबी गरे।

पक्राउ परेका व्यक्तिहरुलाई अदालतको अनुमति लिएर नै थुनामा राखेका कारण निवेदकले जिकिर गरेजस्तो गैरकानुनी नभएको उनको जिकिर थियो। उनले सरकारले अनुसन्धान जुनसुकै समयमा गर्न सक्ने र जसमाथि पनि गर्न सक्ने भएकाले यसमा अदालतबाट हस्तक्षेप हुन नमिल्ने बताए।

सरकारले कसैलाई बदनियत राखेर पक्राउ नगर्ने र कुनै अपराधमा शंकास्पद देखिएको र प्रमाण नष्ट गर्नेदेखि घटना प्रभावित पार्न सक्ने देखेमा थुनामै राखेर अनुसनधान गर्ने पोखरेलले बताए। ललिता निवास प्रकरणमा पनि यही भएको उनको दाबी थियो।

बुधबार महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सहन्यायाधिवक्ता लोकराज पराजुली र नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरे। 

उनीहरुले ललिता निवासको जग्गा कीर्ते गरी व्यक्तिको बनाउने कार्य भएको र यसमा एक/दुई जना मात्र नभई समूह नै लागेको र शक्तिशाली व्यक्तिहरुको संलग्नको संकेतहरु अनुसन्धानबाट देखिएको दाबी इजलासमा गरे। उनीहरुले यसअघि २०७९ साउन ४ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासबाट जारी भएको अन्तरिम आदेशले अनुसन्धानमा प्रभाव पारिरहेकाले खारेज हुनुपर्ने जिकिर गरे। उक्त अन्तरिम आदेश खारेजीका लागि भ्याकेट समेत दर्ता भएको भन्दै यस्तो माग गरे। 

उनीहरुले आरोपितहरुलाई जिल्ला अदालत काठमाडौंमा पेस गरेर अदालतले थप गरेको म्याद अनुसार नै थुनामा राखिएकाले यसमा गैरकानुनी थुनामा राखेको भनी दाबी गर्न नमिल्ने बताए।

बिहीबार सरकारी पक्षको बाँकी बहस सकेर निवेदकहरुले जवाफ दिने समय इजलासले तोकेको छ। निवेदकका तर्फबाट केही कानुन व्यवसायीले जवाफ दिएपछि इजलासले फैसला सुनाउनेछ। इजलासले चिया समयअघि जवाफी बहस सुन्ने अनि फैसला सुनाउने तयारी गरेको छ।

उक्त प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम आफूहरुलाई पक्राउ गरी थुनामा राख्ने निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्च पुगेका थिए।

यसअघि उनीहरुको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाएको थियो। सबै पक्षको लिखित जवाफ परेपछि अन्तिम सुनुवाइ सोमबारबाट भएको हो। नेपाल लाइभ बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com