Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ललिता निवास प्रकरण: विष्णु पौडेलका छोरा र सर्वोच्चका न्यायाधीशमाथि अनुसन्धान भइरहेको सीआईबीको दाबी

काठमाडौं– सरकारी कागजात र प्रमाणहरु केरमेट तथा कीर्ते गरी बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको बनाउने प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सर्वोच्च अदालतका न्यायाधीशसहित राजनीतिक दलका नेता र नेताका आफन्तहरुमाथि पनि अनुसन्धान भइरहेको जनाएको छ। 

बालुवाटार प्रकरणमा भइरहेको अनुसन्धानबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी साझा गरेको सीआईबीले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेलमाथि पनि अनुसन्धान भइरहेको दाबी गरेको हो। 

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले फिर्ता पठाएको फाइल पुन: ‘खोलेर’ ललिता निवासको जग्गा हिनामिनामा भएको कीर्तेबारे अनुसन्धान अगाडि बढाएको सीआईबीले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। सीआईबीले निर्वाचन आयोगका पूर्व आयुकत सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितलाई पक्राउ गरेको थियो। 

पक्राउ परेकामध्ये ३ जना भने यसअघि नै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा जारी गरेको अन्तरिम आदेशानुसार रिहा भएका छन्। 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा सर्वोच्चका न्यायाधीश रेग्मी र एमाले नेता पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने सहमति जनाएको भन्दै दुवैलाई उन्मुक्ति दिएको थियो। 

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले भने अहिले कुनै पनि व्यक्तिमाथि अनुसन्धान नगर्ने, पक्राउ नगर्ने भन्ने कुनै योजना नरहेको र अनुसन्धान जारी रहेको बताइन्। 

पौडेलका छोरा नवीनले शोभाकान्त ढकालसँग ८ आना जग्गा लिएका थिए। तर यो विवाद सार्वजनिक भएपछि उनले सरकारलाई नै फिर्ता गरेको घोषणा गरेका थिए। त्यस्तै सर्वोच्चका न्यायाधीश रेग्मीले भाटभटेनीका सञ्चालन गुरुङसँग बहसको फि (शुल्क) बापत जग्गा लिएका थिए। तर विवादमा परेपछि उनले पनि जग्गा फिर्ताको घोषणा गरेका थिए।  नेपाल लाइभबाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com