Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बारा–२ मा बिहान ८ बजेसम्ममा पाँच प्रतिशत मतदान

बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

उनका अनुसार गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ।
बारामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न २ हजार ६०० सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

उनका अनुसार बारा २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ।
बदनियतपूर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताए।

सो क्षेत्रमा ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । ती मध्ये ६५ मतदानस्थल अतिसंवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएक छ।

महागढी र पचरौता नगरपालिका, करैयामाइर्, सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए।सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com