Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

क्यानडाको भिसा त्यागेर भैँसीपालनमा लागेका हिक्मत: अहिले कमाउँछन् मासिक ७० हजार

क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसीपालनमा रमाइरहेका छन् । उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।

साइप्रसबाट ‘बीएससी नर्सिङ’ अध्ययन पूरा गरेका गोदावरी नगरपालिका–२ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्थ्ये । पुर्ख्यौली घर बझाङको छविस पाथिभेरा-२ भएका उनले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस गएका थिए ।

साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए । सुरुवातमा काम गर्न दुबई पुगेका उनी त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गरे । करिब १४ महिना दुबईमा काम गरेका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक दुई लाख ९० हजारको जागिर गर्न थाले ।

व्यक्तिगत खर्च कटाएर मासिक दुई लाख ९० हजार घर पठाउँथे, उनले भने, त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ । त्यसपछि बिदामा घर आएका उनी विदेश फर्किएनन् । बिदामा घर आएका उनले कुबेतको जागिर छाडेर सुरुमा कुखुरापालन सुरु गरे । कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु पर्‍यो ।

सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ, उनले भने, पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरेँ । उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद सके । कुखुरापालनबाट लाखौँ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाए । क्यानडाको भिसा लगाएर जाने तयारी गरेका उनी साथीको सल्लाहका कारण त्यहाँ गएनन् ।

कुखुरापालनबाट लाखौँ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिएँ, उनले भने, साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसी पाल्न सुरु गरेको हुँ । अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उनले हेमा कृषि फार्म सञ्चालन गरेका छन् ।

फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भैँसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उनले बताए । साथीको सल्लामा अर्का एक जनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ,ु उनले भने । हाल उनको फार्ममा छवटा भैँसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनको भनाइ छ ।

अहिले प्रतिलिटर ८० रुपैयाँका दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छुु, उनले भने, प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु । कुल ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि आठ लाख ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनको भनाइ छ । भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com