Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

२०२४ को यू-१९ विश्वकपमा छनोट हुने नेपालको लक्ष्य

१३ माघ, काठमाडौं । माघको चिसो दिनमा पनि काठमाडौंको कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा यू–१९ क्रिकेटरले पसिना बगाइरहेका छन् ।

मार्च १ देखि यूएईमा हुने आइसीसी विश्वकपको एसियन छनोटको तयारीका लागि उनीहरुले पसिना बगाएका हुन् ।

सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपको छनोट खेल्नका लागि नेपाली टिमले एसियन क्वालिफायर्समा पाँच प्रतिस्पर्धीलाई पछि पारेर छनोट प्रतियोगिता जित्नु पर्नेछ । ७ पटक यू–१९ विश्वकप खेलेको नेपाल सन् २०१६ यता यू–१९ विश्वकपका लागि छनोट हुन सकेको छैन ।

पछिल्ला ३ वटा विश्वकप गुमाएको नेपाली यू–१९ टिमले यसपालि भने जसरी पनि विश्वकप खेल्ने लक्ष्य छ । त्यसैले प्रशिक्षक जगत टमटाले युवा खेलाडीलाई सिनियर खेलाडीसँग ४ अभ्यास खेल खेलाइ सकेका छन् । उनले अहिले दिनमा ३र३ घण्टाको दुई सेसन गरेर अभ्यास गराइरहेका छन् ।

टमटा भन्छन्, ‘यू–१९ टिमले मेरो करियरमा नै पहिलो पटक सिनियर टिमसँग ४ वटा अभ्यास खेल खेल्यो, जुन निकै सहयोगी रह्यो ।’ मिलेसम्म खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजान उनले नेपाल क्रिकेट संघ क्यानसँग छलफल पनि गरिरहेका छन् ।

टमटाकै प्रशिक्षणमा नेपाली यू–१९ टिमले सन् २०१६ मा विश्वकप खेलेको थियो । उनी भन्छन्, ‘यसपालिको र २०१६ को टिममा खासै फरक छैन । त्यो बेलामा पनि धेरै नयाँ खेलाडीसँग नै खेलेका थियौं । यो पटक पनि नयाँ केटाहरु धेरै छन् ।’

नेपाली क्रिकेटमा सदाबहार प्रशिक्षक भनेर चिनिएका जगत टमटाले यू–१६ को टिमदेखि नै प्रशिक्षण दिएका खेलाडी समेत यो टोलिमा छन् ।

प्रशिक्षक टमटा भन्छन्, ‘नयाँ खेलाडी धेरै छन् । जसमा प्रदेश तथा जिल्लामा खेलेका खेलाडी छन् । सुरुमा २८ जना खेलाडी थिए । जोसँग हामीले मुलपानी मैदानमा ५ वटा अभ्यास खेल खेल्यौं । अहिले ती मध्ये छानिएर १८ खेलाडीसँग ४ वटा अभ्यास खेल खेल्यौं । यसले खेलाडीहरुलाई धेरै सिक्ने मौका मिलेको छ । उनीहरुको मनोबल पनि बढेको छ ।’

प्रशिक्षणका लागि लामो समय भएका कारण नयाँ खेलाडीका गल्ती सुधार्ने मौका टिमसँग छ ।

यू–१९ टिममा आएका हरेक खेलाडी भर्खर क्षेत्रीय स्तरबाट खेलेका अथवा केहीले खेलमा नै राम्रो गरेर आएका छन् । खेलाडीको क्षमताको आधारमा हेर्ने भने २ जना सिनियर टिमका खेलाडी पनि रहेको यो टिम मध्यमस्तरको टिम हो ।

शिक्षक जगत टमटा भन्छन्, ‘टिम सन्तुलित छ । तुलनात्मक हिसाबले हेर्ने हो भने तीव्र गतिको बलिङ हाम्रो बलियो पक्ष हो, तर तर ब्याटिङ स्किल पनि राम्रो छ । यसरी हेर्दा सुधार्नु पर्ने पक्ष फिल्डिङ हो ।’ लामो बन्द प्रशिक्षण हुँदा हरेकले आफूलाई सुधार्दै लगेको प्रशिक्षक टमटाको भनाइ छ ।

सिनियर टिममा खेलिसकेका देव खनाल र गुल्सन झा पनि यो टोलीमा छन् । उनीहरु पनि पटक यू–१९ विश्वकप २०२४ खेल्नेमा विश्वस्त देखिन्छन् ।

देवले माथिल्लो क्रमको ब्याटिङ सम्हाल्ने जिम्मा पाउनेछन् । भने गुल्सनको जिम्मामा बलिङ र तल्लो क्रमको ब्याटिङ हुनेछ ।

राष्ट्रिय टिमको समेत अनुभव लिइसकेका यी दुई खेलाडीको भूमिकाले यो टिम निकै बलियो हुनेछ ।

जगत टमटा
प्रशिक्षक टमटा पनि यी दुईबाट निकै अपेक्षा राख्छन् । यी दुई खेलाडी पनि टिममा सिनियर खेलाडीको रुपमा आफ्नो जिम्मेवारीमा धेरै रहेको बताउँछन् ।

पछिल्लो समय नेपालले देव खनालको कप्तानीमा यू–१९ को छनोट खेलेको थियो । यस पटक भने टिमको कप्तानको टुङ्गो लागि सकेको छैन ।

नेपालको तीव्र गतिको बलिङ सम्हाल्न राष्टिय प्रतियोगितामा अनुभव लिइसकेका हेमन्त धामी, दुर्गेश गुप्ता र गुलसन रहनेछन्, भने स्पिनमा मिलन बोहरा र दिपेश कँडेल छन् । अफस्पिनमा गण्डकीका सुवास भण्डारी लगायत २ देखि ३ जना छन् ।

ओपनिङमा एकदिवसीयमा टिकेर खेल्ने ब्याटर हुन अर्जुन कुमाल त्यसबाहेक देव आफैं पनि ओपनिङ अर्डरको ब्याटिङ सम्हाल्ने जिम्मेवारीमा रहनेछन् ।

नेपालका लागि खेलिसकेका तथा पछिल्लो पटक उदयीमान खेलाडीका रुपमा रहेका देव भन्छन्, ‘हाम्रो मुख्य लक्ष्य नै २०२४ को विश्वकप खेल्ने हो । टिम पनि राम्रो छ । हामी प्रोसेसमा अगाडि बढेका छौं । समय पनि छ । आशा छ हामी राम्रो क्रिकेट खेलेर जितेर आउनेछौं ।’

उनले नेपालको ब्याटिङको जिम्मा हुनेछ । सिनियर खेलाडीको रुपमा अन्य जुनियरलाई सम्हाल्ने मौका पनि हुनेछ ।

त्यस्तै नेपालको लागि गुल्सन अलराउण्डरको रुपमा प्रदर्शन गर्न सक्ने खेलाडी हुन् । उनले पछिल्लो समय तल्लो क्रमको ब्याटिङमा राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । साथै तीव्र गतिको बलिङमा पनि उनको भूमिका टिमलाई विकेट दिलाउने हुनेछ ।

उनी भन्छन्, ‘सकेसम्म आफ्नो वेष्ट दिएर टिमलाई जिताउने प्रयास गर्नेछु ।’

उनी पनि टिमले विश्वकप खेल्नेमा विश्वस्त देखिन्छन्, ‘टिम राम्रो छ । म र देव सिनियर खेलाडी भएकाले हामीमा बढी जिम्मेवारी हुनेछ । हाम्रो प्रयास २०२४ को यू–१९ विश्वकप खेल्ने रहनेछ ।

नेपालले आगामाी मार्च १ बाट यूएईमा ५ प्रतिस्पर्धी सहित एसियन छनोटको खेल खेल्ने तालिका सार्वजनिक भइसकेको छ । डिभिजन १ छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com