Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

गठबन्धन अझै केही समयसम्म रहन्छ : प्रधानमन्त्री देउवा

डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताउनुभएको छ । गृह जिल्लामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न आज बिहीवार डडेल्धुरा आइपुग्नुभएका प्रधानमन्त्री देउवाले गठबन्धनको अपरिहार्यता अझै रहेको जिकिर गर्नुभयो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि पाँच दलीय गठबन्धन बनेको उहाँको भनाइ थियो । लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन एक भएको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले जिल्ला सदरमुकाममा आयोजना गरिएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुभएको हो । सभामा उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहँदा पनि प्रधानमन्त्री बन्नुपरेको दाबी गर्नुभयो ।

ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुई पटक मध्यरातमा संसद् विघटन गरेको घटना, लोकतन्त्र र जनताको मर्म बुझ्ने गरी निर्माण भएको संविधानको बर्खिलापमा लाग्न थालेपछि माओवादी, समाजवादी, जनमोर्चा र अन्य मधेसवादी दलका नेताको सहयोगमा आफूले नेतृत्व लिएको उहाँको भनाइ थियो ।

जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाले जिकिर गर्नुभयो । ‘त्यसैले यो गठबन्धन देशको आर्थिक समुन्नति र बेरोजगारीका साथै समृद्ध नेपाल नबनेसम्म रहिरहन आवश्यक छ’, उहाँले भन्नुभयो ।

उहाँले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बताउँदै उहाँले पश्चिम सेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको जानकारी दिनुभयो । अन्य ग्रामीण सडक विस्तार र प्राविधिक शिक्षासँगै गुणस्तरीय शिक्षाका लागि पनि आफू लाग्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सङ्कोच नगर्नसमेत जिल्लावासीलाई अनुरोध गर्नुभयो । आफूलगायत गठबन्धनका नेताले एक–अर्काको पार्टीलाई पटक–पटक भोट हालेको जनाउँदै जिल्लावासीलाई पनि कुनै द्विविधामा नरही गठबन्धनबाट उम्मेदवार बनेका नेतालाई जिताउन अपिलसमेत गर्नुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com