Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

जेलबाट छुटेर तेस्रो पटक ब्राजिलमा शासन गर्दै मजदुर नेता लुला

कात्तिक, १४ काठमाडौँ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा आइतबार भएको राष्ट्रपतीय निर्वाचनबाट ७७ वर्षका लुला ड सिल्भा राष्ट्रपति चुनिएका छन्। मजदुर नेता सिल्भा राष्ट्रपति चुनिएको यो तेस्रो पटक हो। अन्तिम मत परिणामअनुसार लुलाले ५०.८९ प्रतिशत मत पाए। अहिलेका राष्ट्रपति जैर बोल्सोनारो ४९.११ प्रतिशत मत पाएर पराजित भए। लुलाले आउँदो जनवरी १ देखि ब्राजिलको सत्ता सम्हाल्ने छन्।

लुलाले ब्राजिलमा चामत्कारिक नेताको छवि बनाएका छन्। गरिब परिवारबाट आएर देशको सर्वोच्च पदमा पुग्ने उनको जीवन कथा र उनी राष्ट्रपति हुँदा ब्राजिलले मारेको आर्थिक छलाङलाई धेरैले प्रशंसा गरेका छन्।

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले लुलाबारे भनेका थिए( उनी संसारकै सबैभन्दा लोकप्रिय राजनीतिज्ञ हुन्।

वामपन्थी नेता लुला सन् १९४५ मा ब्राजिलको उत्तरपूर्वी शहर परन्यामबुल्कोमा जन्मिएका हुन्। गरिब परिवारमा जन्मिएका उनलाई बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल थियो। लुला सात वर्षको हुँदा उनकी आमाले सात छोराछोरीलाई राजधानी साओ पाउलोमा बसाइ सारिन्।

साओ पाउलोमा पुगेपछि लुलाले स्कुल जान छोडिदिए। उनले पाँच कक्षाभन्दा माथि औपचारिक शिक्षा लिएनन्। परिवारको आर्थिक गर्जो टार्न सुरूमा उनले जुत्तामा पालिस लगाउने काम गरे। केही समयपछि उद्योगमा मजदुरी गर्न थाले।

१७ वर्षको हुँदा दुर्घटनामा परेर उनले देब्रे हातको औंला गुमाए। गरिबी, मजुदरी र अभावको जिन्दगी भोग्दाभोग्दै हुर्केका लुला २० वर्षको उमेरदेखि मजदुरका हक अधिकारबारे बोल्न थाले।

सन् १९७५ मा उनी धातु मजदुर संघका अध्यक्ष बने। त्यतिबेला ब्राजिलमा सैनिक तानाशाहले सरकार चलाएका थिए। तानशाह सरकारविरूद्ध लुलाले विभिन्न हड्ताल तथा प्रदर्शन आयोजना गरे। मजदुर नेताका रूपमा उदाइरहेका उनको तुलना त्यतिबेला पोल्याण्डका तत्कालीन नेता लेक वालेन्जासँग हुने गरेको थियो। नोबेल शान्ति पुरस्कार विजेता वालेन्जा पनि पोल्याण्डमा मजदुर नेता हुँदै राष्ट्रपति बनेका थिए।

सन् १९८० मा लुलाले केही बुद्धिजिवी तथा कलाकार मिलेर सैन्य शासनको विरोधका लागि मजदुर पार्टी गठन गरे। सन् १९८५ मा सैनिक तानाशाहको अन्त्य भएपछि लुला राष्ट्रपतिको दौडमा होमिए। ब्राजिलको शीर्ष पदमा पुग्ने दौडमा उनी तीन पटक असफल भए।

सन् २००२ मा भने उनको सपना पूरा भयो। ५७ वर्षको उमेरमा उनी ब्राजिलको राष्ट्रपति चुनिए। लुलाको पहिलो कार्यकालमा ब्राजिलमा व्यापक आर्थिक सुधार भयो। उनको पहिलो कार्यकालमा गरिबी निवारण तथा सामाजिक कल्याणको क्षेत्रमा स्मरणयोग्य काम भएका थिए।

राम्रो काम गरेकाले नै होला सन् २००६ मा पनि ब्राजिलियनहरूले उनलाई फेरि राष्ट्रपति बनाए। उनको दोस्रो शासन कालमा ब्राजिलको पेट्रोलियम पदार्थ तथा पानीजहाज निर्माण कम्पनीका व्यापार फस्टाउँदा अर्थतन्त्रको आकारमा ब्राजिल संसारकै छैठौं स्थानमा पुगेको थियो। ओलम्पिक तथा फुटबलको विश्वकपसमेत आयोजना भएका कारण मुलुकको प्रतिष्ठा समेत नयाँ उचाइमा पुगेको थियो।

सन् २०१५ मा भ्रष्टाचारबारे नयाँ खुलासा भएसँगै लुलाको प्रतिष्ठामा समेत आँच पुग्यो। सार्वजनिक पूर्वाधार निर्माणका ठेकेदारहरूसँग लुलासँगै अन्य ठूला नेताले आर्थिक लाभ लिएको आरोप लाग्यो। संसारकै छैठौं ठूलो अर्थतन्त्र ब्राजिलले सन् २०१५/२०१६ मा नराम्रो आर्थिक मन्दी व्यहोर्नुपर्‍यो। आर्थिक मन्दीलाई नै कारण देखाउँदै तत्कालीन राष्ट्रपति डिल्मा रूसेफमाथि महाअभियोग लगाइयो। लुलाले नै रूसेफलाई आफ्नो उत्तराधिकारी बनाएका थिए।

रूसेफको बहिर्गमनपछि २०१८ मा दक्षिणपन्थी विचारधाराका जैर बोल्सोनारो राष्ट्रपति बने। बोल्सोनारो सत्तामा आएपछि लुलाविरूद्धको भ्रष्टाचार मुद्दाको छानबिनले तीव्रता पायो। सन् २०१७ मा उनलाई भ्रष्टाचार अभियोगमा जेल चलान गरिएका कारण सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा लुला उम्मेदवार बन्न पाएका थिएनन्। उनको मुद्दा ब्राजिलको सर्वोच्च अदालतसम्म पुग्यो। अभियोगलाई प्रमाणित हुने यथेष्ट प्रमाण प्राप्त नभएको भन्दै सर्वोच्चले उनको सजाय रद्ध गरिदियो।

जेलबाट छुटेको १९ महिनापछि राष्ट्रपतिमा चयन भएका लुलाले मतदातालाई भनेका छन्,‘विरोधीहरू मलाई ज्युँदै गाड्न चाहन्थे। तपाईंहरूको समर्थनले म फेरि राष्ट्र हाँक्न आइपुगें।’

लुलाले मुलुकको आर्थिक स्थिति फेरि सबल बनाउने प्रण गरेका छन्। मुलुकको हस्तक्षेपकारी आर्थिक नीतिले बाहिरी लगानीकर्ता निरूत्साहित रहेको भन्दै उनले आर्थिक नीति सुधार गरेर वैदेशिक लगानी भित्र्याउने योजना अघि बढाएका छन्। बोल्सोनारोका पालामा घना जंगल अमेजनमा १५ वर्ष यताकै उच्च फडानी भएको भन्दै उनले अमेजनको शाख फेरि फर्काउने प्रतिवद्धता व्यक्त गरेका छन्।

सन् २०२१ को मध्यदेखि हालसम्म ब्राजिलको अर्थतन्त्र मुद्रास्फितिको कारण नराम्रोसँग प्रभावित छ। लुलाले त्यसलाई सुधार गर्दै भोकमरी तथा बेरोजगारी समस्यालाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। एजेन्सी

(रोयटर्स, वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सलगायतका विवरणमा आधारित भएर शिशिर ढकालले तयार पारेको सामग्री।)

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com