Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

झापामा घटेन हात्तीको आक्रमण

यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन ।

हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/७९ मा मात्र छ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

अर्जुनधारामा एउटा र बुद्ध शान्तिमा दुई हात्ती मृत भेटिएको पाठकले जानकारी दिए । आठ व्यक्ति हात्तीको आक्रमणबाट घाइते भएका छन् । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को (दोस्रो संशोधन २०७४) का अनुसार कुनै व्यक्तिलाई सामुदायिक वन, डिभिजन वनका कर्मचारीबाहेक अन्य सर्वसाधारण व्यक्तिलाई जङ्गलको क्षेत्रभन्दा बाहिर हात्तीले आक्रमण गरी मारेमा रु १० लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । घाइतेको हकमा सम्पूर्ण खर्च सरकारले बेहोर्ने व्यवस्था रहेको छ ।

घर भत्काएको, बालीनाली क्षति र भण्डारण अन्नमा क्षति पुर्याएमा रु १० हजार देखि रु ३० हजारसम्मको क्षतिपूर्ति पाउने व्यवस्था ऐनले गरेको छ तर सो क्षतिपूर्ति पाउनका लागि घटना भएको ३५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने व्यवस्था रहेको छ ।

यसै आव २०७८/७९ मा मात्रै छ जना मृतकका परिवारसहित चारसय ८५ जनालाई रु एक करोड १० लाख ७२ हजार एकसय ९३ क्षतिपूर्ति दिइएको पाठक बताउँछन् । यस आर्थिक वर्षमा ३७७ निवेदन परेका र ती निवेदन कार्यान्वयनको प्रक्रियामा रहेको उनले बताए ।

हात्ती पीडित मेचिनगर–१ बाहुन डाँगीका केशव न्यौपानेले क्षतिपूर्तिका लागि कानुनी व्यवस्था अलिक झन्झटिलो र ढिलो भएको गुनासो गरे । जङ्गली हात्तीकै कारण झापाका मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, बिर्तामोड ,भद्रपुर, कचनकवल, कमल र हल्दिबारीमा बर्सेनि लगाएको बाली भित्र्याउन पाउँदैनन् ।

धानको सिजनमा धान, मकैको सिजनमा मकै, गहुँलगायत बाली थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाउने गरेको हल्दिवारी–३ का यामलाल अधिकारी भन्छन् । सरकारले भारतबाट आउने जङ्गली हात्तीको नियन्त्रणका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि समस्या दिनप्रतिदिन उस्तै रहेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com