Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

टिकटकबारे वासिङ्टनमा चुलिँदो दिक्दारी

चिनियाँ कम्पनीको स्वामित्व रहेको एप टिकटक अमेरिकाका निम्ति टाउको दुखाइको विषय बनेको छ। एपमार्फत् अमेरिकाको डेटा बेइजिङ पुग्ने भन्दै वासिङ्टनमा बेलाबखत बहस उठ्ने गरेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा नसुल्झिएको यो बहस अहिले जो बाइडेनका पालामा पनि उत्तिकै चासोको विषय छ।

सिनेटरहरूले टिकटकको बढ्दो लोकप्रियता र त्यसमा अमेरिकीहरूको उत्तिकै संलग्नताको सम्भावित खतराबारे बाइडेन प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन्। टिकटकबाट अमेरिकालाई हुनसक्ने सुरक्षा चुनौतीबारे रिपब्लिकन सांसद मार्क रुबियोले बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग संवाद गरेका थिए। यस्तै, डेमोक्रेटिकका सिनेटर मार्क वार्नरले पनि यस विषयमा बाइडेन प्रशासनसँग पटक-पटक कुरा राखेका छन्। साइबार सुरक्षासम्बन्धी नियामक निकायहरूले विभिन्न चिनियाँ एपको जाँचपछि टिकटकसँग सचेत रहनुपर्ने सुझाव दिएका छन्।

पृष्ठभूमिमा भइरहेका यस्ता संवादले टिकटक वासिङ्टनको टाउको दुखाइ बनेको संकेत गर्छ। अमेरिकी महत्वपूर्ण सूचनाहरू बेइजिङको पहुँच पुग्ने खतरा रहे पनि यसको संवदेनशीलतामा बाइडेन प्रशासन उदासिन रहेको भन्दै सांसद तथा सरोकारवालाहरू निराश छन्।

टिकटकको डेटा नीति र चिनियाँ सरकारसँग सम्बन्धका विषयमा सार्वजनिक समाचारका बाबजुद् बाइडेन प्रशासनले कुनै ध्यान नदिएको उनीहरूको भनाइ छ। सांसद रुबियो र वार्नरले त संघीय व्यापार आयोगलाई एपबारे अनुसन्धान अघि बढाउन माग नै राखेका थिए। नियामक निकाय संघीय सञ्चार आयोगले भने टिकटकलाई अमेरिकन एप स्टोरमा पहुँच दिन नहुने बताएको थियो।

सिनेटमा समेत यस विषयमा बहस भएको छ। मंगलबारमात्रै केही सांसदहरूले सुरक्षा संवदेनशीलताका कारण टिकटक डाउनलोड नगर्न सूचित गरिनुपर्ने धारणा राखेका थिए। टिकटकका सम्बन्धमा आफ्नो ध्यानाकर्षणबारे सांसद रुबियो भन्छन्, ‘अहिलेसम्म बाइडेन प्रशासनले टिकटकबारे उठेका सवाल सम्बोधनलाई प्राथमिकतामा राखेको छैन। सम्भवतस् अझै केही नयाँ खुलासाको पर्खाइमा रहेको हुनुपर्छ।’

टिकटकको लोकप्रियता बढ्दै गएको देखेर सन् २०२० मा अमेरिकी एक क्रेताले टिकटक खरिदको प्रयाससमेत गरेका थिए। यो प्रयास असफल बन्यो। अहिले विश्वभर १ अर्बभन्दा बढी मानिसले टिकटक प्रयोग गर्दै आएका छन्। १३ देखि १७ वर्ष उमेर समूहका ६७ प्रतिशत अमेरिकीले टिकटक प्रयोग गर्ने प्यु रिसर्च सेन्टरको प्रतिवेदन छ।

टिकटकको डेटा नीतिबारे द्विपक्षीय जाँच हुनुपर्ने अमेरिकीहरूको माग छ। यस विषयमा टिकटकका प्रमुख कार्यकारीले डेटा नीतिबारे प्रश्न गरिरहेका सिनेटरहरूलाई भनेका छन्, ‘हाम्रो डेटा नीति सिधा छ, यसमा सन्देह गर्नुपर्ने केही कुरा छैन।’

यस्तै सिएनएनसँगको संवादमा टिकटकका नीति प्रमुख माइकल बेकरम्यानले भनेका छन्,‘अमेरिकी सामाजिक सञ्जाल वा अन्य एपका डेटा नीति जे(जति सरल छन् हाम्रो पनि उस्तै नै हो। अमेरिकी सुरक्षा चासोलाई सम्बोधनका निम्ति अमेरिकी प्रयोगकर्ताका डेटा अमेरिकाकै ओर्याकल सर्भरमा स्टोर गरिने माइकलको भनाइ छ।

आफ्नो सुरक्षा चुनौतीलाई प्राथमिकतामा राखेर ह्वाइटहाउसले छिट्टै केही नीति प्रस्ताव गर्न सक्ने आकलन गरिएको छ। यो वर्षको सुरूआतमा आफ्ना डेटा प्रतिस्पर्धीको पहुँचमा आउन नदिनका निम्ति कार्यकारी आदेशको प्रयोगबारे मस्यौदासमेत तयार भएको थियो।

बाइडेन प्रशासनले डेटा सुरक्षासम्बन्धी नीतिबारे सरोकारवाला पक्ष सबैलाई समेटेर सरकारलाई सुझाव दिने समिति गठनको तयारी समेत गरेको छ। यस समितिले टिकटकलाई मात्रै नभएर अन्य एपबाट हुनसक्ने सम्भावित जोखिम र समग्र डेटा सुरक्षाबारे सरकारलाई सुझाव दिनसक्नेछ।

‘अमेरिकी डेटा आफ्नो हातमा लिएर लाभ लिनसक्ने चीन सहितका मुलुकबारे बाइडेन प्रशासनको चासो छ। डेटा सुरक्षा र एपमार्फत् हुनसक्ने सम्भावित चुनौतीलाई सम्बोधनका निम्ति बाइडेन प्रशासन तयार छ,’ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता सलोनी शर्माले भनेकी छिन्।

सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशको प्रयोग गर्दै टिकटक अमेरिकी कम्पनीलाई नबेच्दासम्म गुगल र एप्पलका एपस्टोरमा प्रतिबन्ध लगाउन भनेका थिए। ट्रम्पको यो आदेशलाई फेडरल कोर्टले कानुनसम्मत नरहेको भन्यो। वी च्याट र टिकटकलाई लगाइएको प्रतिबन्ध बाइडेनले फिर्ता गरे।

टिकटकबाट हुनसक्ने सम्भावित चुनौतीबारे बाइडेन प्रशासन सचेत छ। त्यसैले आफ्नो सुरक्षा संवेदनशीलताका चासोबारे उसले छलफल चलाइरहेको छ। टिकटकमार्फत् आफ्ना डेटा बेइजिङ नपुगोस् भन्नका निम्ति अमेरिकाले ठूलै टोली परिचालन गरेको छ। अमेरिकी सरकारका चासो सम्बोधनका निम्ति टिकटकका तर्फबाट १० कर्मचारी खटिएका छन्। टिकटक र अमेरिकी सरकारबीच डेटा सुरक्षाका सवालमा छिट्टै केही समझदारी बन्न सक्नेछ।

-न्युयोर्क टाइम्सबाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com