Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गायिका दिलमायाको मृत्युबारे प्रहरीले सक्यो अनुसन्धान, हत्या भएको निष्कर्ष

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्‍धान सकेको छ।
प्रहरीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठले हत्या गरेको भन्दै प्रतिवेदन बुझाएको छ।

असार ११ गते शनिबार बिहान गायिका दिलमाया तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन्।
सुरूमा दिलमायाले आत्महत्या गरेको आशंका गरिएको थियो। शनिबार बिहान १:२० मिनेट जाँदा उनको फेसबुकमा ‘सुसाइड नोट’ भेटिएको थियो।

जसकारण पनि उनले आत्महत्या नै गरेको हो कि भन्ने आशंका गरिएको थियो। अनुसन्धानको क्रममा उनीसँगै खिलबहादुर श्रेष्ठ पनि बस्दै आएको खुल्यो। श्रेष्ठ दिलमायाका प्रेमी हुन्। घरबेटीलाई भने उनीहरूले आफूहरू श्रीमान-श्रीमती भएको बताएका थिए।
सुरूमा प्रहरीले उनीसँग सोधपुछ गर्दा आफू मध्यराती १२ बजेतिर निस्केको बताएका थिए।

अनुसन्धान गर्दा भने उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ। साढे ४ बजे मात्र उनी घरबाट बाहिरिन्छन्।
प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

श्रेष्ठविरूद्ध दिलमायाका बुवाले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए।
‘कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको थियो। जाहेरीको आधारमा अनुसन्धान गरेका थियौं। त्यसैमा हामीले अनुसन्धान सकेर प्रतिवेदन बुझायौं,’ प्रहरी उपरीक्षक मैनालीले भने।

दिलमायाको शव सुरूमा घरबेटीले देखेका थिए। फेसबुकमा सुसाइड नोट देखेपछि फ्यानहरूले उनको नम्बरमा फोन गरेका थिए। उनको फोन अफ भएपछि घरबेटीलाई फोन गरिएको थियो।

घरबेटी जाँदा दिलमायाको कोठा खुल्ला नै थियो। उनी भित्र मृत फेला परेकी थिइन्।
प्रहरीले यस घटनामा अनुसन्धान गर्दा पोष्टमार्टमको रिपोर्टले पनि धेरै खुल्ने बताएको थियो। रिपोर्टमा दिलमायाको मृत्यु झुन्डिएर भएको देखिएको प्रहरी उपरीक्षक मैनालीले बताए।

‘पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु झुन्डिएर भएको आएको छ। यसमा धेरै कुराहरूले उनी नै अभियुक्त हुन् भन्ने देखाउँछ,’ उनले भने,‘अरू प्रमाणहरू पनि लिएर हामीले प्रतिवेदन बुझाएका छौं।’

यस्तै प्रहरीले घटनास्थलबाट दिलमायाको मोबाइल फोन पनि फेला पार्न सकेको छैन।
उनको त्यही फोनबाटै फेसबुकमा स्टाटस लेखिएको प्रहरीको भनाइ छ। जुन अहिले फेला नै पर्न सकेको छैन।
प्रहरीले घटनामा प्रयोग भएको भनिएको सल पनि फेला पारेको थियो। जुन खिलबहादुरले लगेर फ्याँकेका थिए।

उनले काठमाडौंको महाराजगन्जस्थित कतार भिषा सेन्टर नजिक सडकको पश्चिम किनारको झाडीमा फेला परेको थियो।
दिलमायाले यसअघि आत्महत्याको प्रयास गरेको खुलेको थियो। खिलबहादुरसँग बस्न थालेदेखि उनी डिप्रेसनमा भएको र त्यसकारण नै उनले आत्महत्याको प्रयास गरेको घरबेटी सर्वोत्तम श्रेष्ठले बताएका थिए। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com