Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

‘कर्णाली सिंहदरबार’ बनाउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले यहाँका आठ मन्त्रालय एकै ठाउँमा रहने गरी ‘कर्णाली सिंहदरबार’ बनाउने भएको छ।
प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दक्षिणमा पर्ने वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतको जमिनमा बनाउन लागेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट तथा कार्यक्रमको विस्तृत जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं योजनामन्त्री विन्दमान विष्टले ‘कर्णाली सिंहदरबार’ निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९/८० मा रु १५ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

प्रवक्ता विष्टले एकीकृत प्रशासनिक सेवा प्रवाहका लागि प्रदेशका आठ वटै मन्त्रालय एउटै हाताभित्र रहने संरचना निर्माण गर्न थालेको बताए।

‘हामीले गत आर्थिक वर्षमै प्रदेश सरकारका मन्त्रालयहरू एकै ठाउँमा बनाउन खोजेका थियौं’, उनले भने, ‘त्यसका निम्ति सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारेको थियो। तर संगठन संरचना फेरबदल हुँदा अब पुनः डिपिआर गरी निर्माण कार्यलाई अघि बढाउँछौं।’

‘कर्णाली सिंहदरबार’को ढाँचामा संरचना निर्माण गर्दा प्रदेश सरकारका मन्त्रालय र अरू केही सरकारी कार्यालय पनि त्यसभित्र पर्न सक्ने जनाउँदै मन्त्री विष्टले त्यसको चारैतर्फ पर्खाल, त्यसभित्र मन्त्रालयसहित खुलामञ्च, सभाहल निर्माण गरिने बताए। यसका लागि आगामी आवको पहिलो महिनामै काम थालनी गरिने उनको भनाइ थियो।

आर्थिक सचिव झक्कप्रसाद आचार्यले ‘कर्णाली सिंहदरबार’ भित्र सभाहल बनाउन रु दुई करोड, पर्खाल निर्माणमा रु पाँच करोड र मन्त्रालय निर्माणका लागि रु आठ करोड छुट्याइएको जानकारी दिए।

‘आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडिको जग्गामा ‘कर्णाली सिंहदरबार’ को संरचना निर्माण हुनेछ’, सचिव आचार्यले भने, ‘उक्त संरचना बनाउनका लागि साढे दुई बिघा क्षेत्रफलको जमिन छ र त्यसलाई बढाउन पनि सकिन्छ।’
‘कर्णाली सिंहदरबार’ निर्माण गर्न सकिए नागरिकलाई एकै ठाउँबाट सेवा प्रवाह हुनुका साथै सुरक्षा सहजता मिल्ने जनाइएको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com