Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पृथ्वीराजमार्गको भासिएको सडक एकतर्फीमात्रै सञ्चालन

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो ।

उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातिको समयमा जोखिम हुने भएकाले शुक्रबार राति ७ बजेदेखि आज बिहान ६ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।

“साना तथा ठूला सबै गाडी चलेका छन्, काम हुँदै गर्दा केही समय रोकेर सवारी पठाउने गरिएकाले केही समय जाम हुने गरेको छ”, उनले भने । सवारीसाधनको चाप रहेको र एकतर्फी सवारी सञ्चालन हुँदा पृथ्वीराजमार्गको आँबुखैरेनी–डुम्रे खण्डमा सवारीको जाम हुने गरेको छ ।

केही दिनदेखि परेको निरन्तर वर्षाका कारण पृथ्वीराजमार्गको तनहुँ खण्डका विभिन्न ठाउँमा सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपरेको छ । मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा सडक खन्दा विभिन्न ठाउँमा सडक हिलाम्मे भएपछि सवारी फस्ने गरेका छन् । तनहुँ खण्डका आँबुखैरेनी, डुम्रे, छिर्कने, घाँसीकुवा, म्याग्दे, दुलेगौडालगायतका ठाउँमा सडक बिग्रिएर खाल्डाखुल्डी हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या हुने गरेको छ । बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बस र व्यास नगरपालिका–१२ मा आज दिउँसो ट्रक फसेका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com