Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

यो निर्वाचनले देश कता जाने भन्ने निर्धारण गर्छ-अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनले नै देश कतातिर लैजाने भन्ने निर्धारण गर्ने बताएका छन्। एमाले काठमाडौंले आज काठमाडौंमा गरेको आमसभामा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनले केन्द्रीय र प्रादेशिक सरकार हेरफेर नगरे पनि देशको दिशा तय गर्ने उल्लेख गरे।

एमालेले देशलाई चौतर्फी ढंगबाट विकास गर्ने हुँदा सबैतिर रुचाइएको उनले दाबी गरे।
उनले भने, सबै पेसा र व्यवसायका हित अघि बढाउन एमाले नै चाहिन्छ भन्ने सबैको बुझाइ छ।

एमाले नेतृत्वको सरकारले के के गर्‍यो र विकासको अभियान कसरी अघि बढाएको जनतालाई थाहा भएको पनि ओलीले बताए। ऐतिहासिक र पुरातात्विक महत्वका धरोहर, धार्मिक आस्था, परम्परा, संस्कृति र संस्कारसँग जोडिएका कुराको रक्षा एमालेले नै गरेको उनको भनाइ थियो।

एमालेले इतिहासको छापका रूपमा रहेको धरहरा उठाएको, रानीपोखरी र काष्ठमण्डप पुनःनिर्माण गरेको बताउँदै उनले भने, इतिहासको संरक्षण र सम्पदाको संरक्षण गरेका छौं।

आफू नेतृत्वको सरकारले नै ६० वर्षअघि गुमाएको भूभाग समेटेर नक्सा छापेको र सर्वसम्मतिले संविधान संशोधन गरेको ओलीले बताए। त्यसैका आधारमा अब कसैले पनि गुमाएको भूभाग सधैंका पचाउन नसक्ने उनले बताए। एमाले सरकारले विभिन्न सडक निर्माण र विस्तार, विमानस्थल निर्माण लगायत पूर्वाधार निर्माणलाई अघि बढाएको उनले बताए।

हुलाकी राजमार्ग, पुष्पलाल रजमार्ग, मदन भण्डारी राजमार्ग, काठमाडौं तराई द्रुतमार्ग र विभिन्न नदीमा करिडोर अघि बढाइएको, पोखरामा विमानस्थल निर्माण, भैरहवाको विमानस्थल स्तरोन्नति गरिएको उनले बताए। राति पनि विमान उडाउन थालिएको, ठाउँठाउँमा हेलिप्याड बनाइएको उनले दाबी गरे।

अध्यक्ष ओलीले भने, बालबालिकादेखि ज्येष्ठ नागरिक हेरचाहमा ध्यान दिइएको छ।
काठमाडौ्र महानगरपालिकालाई अरू देशले पनि पहिले हेर्ने हुँदा यसलाई सुन्दर, सफा र विकसित बनाउनुपर्नेमा उनको जोड छ। ऐतिहासिक धरोहरलाई सम्पदाको लेउ, झ्याउ नलाग्ने गरी जीवन्त बनाएर संरक्षण गर्न ध्यान दिनुपर्ने उनले बताए।

यो महानगरले आसपासका नगरपालिकाहरूले समेत अनुसरण गर्ने गरी काम गर्नुपर्छ, अध्यक्ष ओलीले भने, अरू पालिकामा आवश्यक पर्दा सहयोग गर्न पनि तत्पर हुनुपर्छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com