Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गोहीका ५१९ अण्डा सङ्कलन

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ। ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो।

निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो। ती दुई नदीमा भेटिएकामध्ये आठ वटा गुडका अण्डा ल्याइएको छैन। ती दुई नदीबाट गत वर्ष ४३६ वटा अण्डा ल्याइएको थियो। ती अण्डाबाट २५८ वटा बच्चा कोरलिएका थिए।

विगत दुई वर्षदेखि प्रजनन् केन्द्रमा पारेका अण्डाबाट बच्चा कोरलिएका छैनन्। त्यहाँ २०३५, २०३६ र २०३७ सालका एक भाले र १२ वटा पोथी गोही छन्। त्यसयताका साना ठूला गरी ५३१ गोही रहेको पौडेलले जानकारी दिए।

प्रजनन् केन्द्रमा भाले बुढो भएका कारण बच्चा नकोरलिएको हुनसक्ने अनुमान छ। प्रजनन् केन्द्रमा रहेका अन्य गोही साना भएकाले भाले पोथी पहिचान हुन सकेका छैनन्। पौडेलका अनुसार राप्ती र नारायणी नदीमा भने पाँच वटा भाले गोही देखिएका छन्।

नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबइबाट एउटा भाले ल्याइएको थियो। राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।

हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एकहजार ६९२ गोही छाडिसकिएको छ। निकुञ्जले विसं २०३५ मा गोही प्रजनन् केन्द्र स्थापना गरी प्रजनन् केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com