Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’, दैनिक चार घण्टा यातायात बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ ।
म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको जानकारी दिए। यसअघि गत माघ १० गतेदेखि बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैतै दसैंमा मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकको चाप बढेपछि चैत १५ गतेदेखि हटाइएको थियो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणको कामलाई तीव्रता दिन र सुरक्षालाई ध्यानमा राखेर सवारी साधन र काम गर्ने समयतालिका बनाइएको बताए।

विसं २०७४ मा सुरू भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ।

हालसम्म मुस्ताङको ६ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ। ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये ६ वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्। ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारवटामध्ये एक वटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा छ।

आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन्। थप एउटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन्। थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि वैशाख ३ गतेदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ। २०७९ साल वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिनेछ। बिहान ११ देखि दिउँसो ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com