Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

गृहमन्त्री खाणसँग बेलायती राजदूत पोलिटको भेट

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले भेटवार्ता गरेकी छन्।
गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो।
भेटमा गृहमन्त्री खाणले बेलायतको सहयोगमा सन् २०१४–२०२१ सम्म ‘सुरक्षा र न्यायको सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकामा राजदूत पोलिटलाई धन्यवाद दिए।

परियोजनालाई निरन्तरता दिँदै बेलायतको ‘फरेन कमनवेल्थ एण्ड डेभलभमेन्ट अफिल’ले सन् २०२१ को अक्टोबरमा नै उक्त कार्यक्रम पुनः स्वीकृत गरिसकेको थियो।

नेपाल र बेलायतबीच यस सहयोगलाई कार्यान्वयन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने सन्दर्भमा उनले गृहमन्त्रीसँग भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री खाणले परियोजनाले पहिलो चरणमा सुरक्षा र न्यायमा जनताको पहुँच बढाउन, लैंङ्गिक हिंसा रोक्न तथा प्रहरी र समुदायको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

यसकै निरन्तरता स्वरूप परियोजनाको दोस्रो चरण लागू गर्न आवश्यक ‘एमओयू’को मस्यौदामा नेपाल प्रहरीलाई धेरैभन्दा धेरै उपकरण र भौतिक संरचनामा सहयोग गर्ने गरी पुनरावलोकन गर्न नेपाल सरकारले गरेको आग्रहलाई बेलायतले सकारात्मक रूपमा लिएकामा मन्त्री खाणले राजदूतमार्फत् बेलायत सरकारलाई धन्यवाद दिए।

भेटमा बेलायती राजदूत पोलिटले नेपालमा संक्रमणकालीन न्यायबारे चासो व्यक्त गरेकी थिइन्।
मन्त्री खाणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका थिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com