आज मधेस प्रदेशमा सार्वजनिक बिदा
मंसिर, २३ काठमाण्डौ । बाराको बरियारपुरमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा चहलपहलसँगै दर्शनार्थीको भीड बढेको छ । गढीमाई दर्शनका लागि दर्शनार्थीको भीड र व्यापारले मेलाको रौनक बढाएको छ ।
शुक्रवारदेखि पाँच दिनका लागि स्थानीय विद्यालय बन्द गरिएको छ । मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । गढीमाईमा हरेक ५ वर्षमा मेला लाग्ने गर्छ ।
मेलामा दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, बिजुली बत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानीलगायतको व्यवस्थापन मिलाएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले जानकारि दिनुभयो ।
यसैबीच खानेपानीमन्त्री प्रदीप यादवले पञ्चवर्षीय गढीमाई मेलामा आउने श्रद्धालु भक्तजनलाई २४ घण्टा शुद्ध एवम् स्वच्छ खानेपानीसहित आधारभूत सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।