Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जिन्दगीभरको कमाइ एकै छिनको पहिरोले पुरिदियो

बाउआमा र परिवारलाई ठाउँमा ल्याएर राख्न पाए राम्रो हुन्थ्यो भनेको, मार्न ल्याएजस्तो भयो, पोखरा महानगरपालिका–२५, सुइखेतका सूर्य विकले पहिरो पसेको घरअघि उभिएर भने, धन्न१ बाँच्न लेखेको रहेछ, बाँचियो।

पोखरामा अविरल वर्षा हुनु नौलो होइन। यही असार ११ गते पनि त्यसरी नै वर्षा भयो जसरी यसअघि हुन्थ्यो। उक्त दिन वर्षासँगै बाढी र पहिरो आयो। सूर्यको घरमा बाढी पस्यो। रातारात भागदौड गरेर ज्यान जोगाए।

सूर्यको पुर्ख्यौली घर म्याग्दी हो। सुइखेतमा घर बनाएपछि पाँच महिनाअघि मात्र उनको परिवार स्थायी बसोबासका लागि पोखरा झरेको हो। साढे आठ वर्ष खाडीमा रोजगारी गरेर कमाएको पैसामा केही ऋण थपेर बनाएको घरमा बाढी पसेपछि सूर्यको चैन हराएको छ।

घर पुरिने गरी पहिरो आएको रात करिब ९ बजेको थियो। सूर्यका परिवारजन खाना खाएर सुत्ने तरखरमा थिए। केही घन्टादेखि वर्षा अविरल थियो। लेदोसहितको ठूलो बाढी आएको आवाज उनीहरूको कानमा ठोक्कियो। बाहिर हेर्न पछाडिको ढोका खोल्न खोजे, खुलेन। अगाडिको ढोका खोलेर हेर्दा लेदो र ढुंगाको थुप्रो थियो। बाढी बगिरहेको थियो। ठूलो जोखिम देखिएपछि सबै जना घरबाट निस्किए।

राति बाढी छिचोल्दै उनीहरू मध्यपहाडी लोकमार्ग पुगे। घरभित्रको सबै सामान त्यहीँ रह्यो।
ज्यान जोगाउनै मुश्किल थियो, सामान कसरी निकाल्नु, सूर्यले भने, घरको सामान केही पनि छैन, लेदाले पुरिदियो।

म्याग्दीको घरबाट परिवारजनलाई पोखराको नयाँ घरमा राखेपछि खाडीतिर फर्केन सूर्यको योजना थियो। विदेश जाने खर्च भनेर घरमै दुई लाख रूपैयाँ राखेका थिए। चार तोला सुन थियो।

टिभी, फ्रिज, दराज केही बाँकी रहेन, उनले भने, पैसा र सुन पनि बाढीले कता पुर्‍यायो कता।
सुइखेतकै अर्का बासिन्दा हर्कबहादुर विकको परिवार पनि त्यही दिन, असार ११ को मध्यरात, घर छाडेर भाग्नु पर्‍यो। घर डुबानमा परेपछि राती साढे १२ बजे भागेर सुरक्षित ठानिएको ठाउँमा पाल टाँगेर बसे। त्यहाँ पनि पहिरो आएपछि फेरि भागेर अर्को ठाउँमा पुगे।

जताजतै डुबान थियो। त्यसमाथि पहिरो आयो, उनले भने, मध्यरातमा पार पाइनसक्नु दुःख पायौं। जसोतसो ज्यान जोगाइयो।
सुइखेतमा त्यस बेला करिब तीन सय घर डुबानमा परे। त्यहाँबाट कम्तीमा जना सय राति नै घर छाडेर भाग्नु पर्‍यो। त्यही रात सुइखेतका बासिन्दाले जस्तै विपत्ति वडा नम्बर १६, सालघारीका बासिन्दाले पनि सामना गर्नुपर्‍यो।

रामबहादुर मगरको घर र गोठ पहिरोले नाम निसाना मेटिदिएको छ। वर्षौं मजदुरी गरेर बचाएको पैसाले तीन कोठे घर छानोसमेत नदेखिने गरी पहिरोले पुरिदियो। उदयपुरबाट दस वर्षको उमेरमा पोखरा आएका रामबहादुर मजदुरी गरेर यतै बसे। घर बनाउने मिस्त्री काम गर्थे। स्थानीय सहकारीबाट ऋण लिएर थोरै जग्गा किने। तीन वर्षअघि तीन कोठाको सानो घर बनाएका थिए।

उनले कुखुरापालन गरेका थिए। खोरमा ३६ वटा लोकलसहित ५० वटा कुखुरा थिए। सहकारीको किस्ता तिर्न १४ हजार रूपैयाँ ल्याएर राखेका थिए। सामानको के कुरा, पैसा पनि निकाल्न पाएनन्।

बिहानीपख बाढी आएको देखेर रामबहादुर भलपानी तर्काउन गएका थिए। हतार हतार जमिन खनेर तर्काए। बिहान सात बजेतिर पहिरो खसेपछि भागदौड मच्चियो।

ुमाथिबाट बोटबिरुवा लच्किएर तल झर्दै गरेको देखेँ। त्यसपछि सबै जना भाग्यौं, रामबहादुरले भने, काखको सानो छोरा सुतिराखेको थियो, उसलाई बोकेर हतारहतार दौडियौं।

पहिरोले आफ्नो घर र गोठ नाम निसाना मेटिने गरी पुरेको उनी प्रत्यक्ष देखे। रामबहादुरले भने, पहिरो घरमा खस्दा बम पड्एिजस्तो आवाज आयो, छानोको टिन आकाशरित उड्यो, फेरि पहिरोले तल झारेर पुर्‍यो।

रामबहादुर घर बनाउने मजदुरी र कखुरापालनसँगै अधियाँमा खेती पनि गर्छन्।
ुघरमा भएको धान निकाल्न पाएको भए पनि खानलाई हुन्थ्यो, उनले भने, जिन्दगीभरको कमाइ एकै छिनको पहिरोले सबै पुरिदियो।ु

बाढी र पहिरो मात्र होइन, वडा नम्बर १६ मा जमिन भ्वाङ पर्ने समस्या पनि उत्तिकै छ। असार ११ गते राति नै महेन्द्रगुफा नजिकै भ्वाङ परेर तीन वटा घरमा क्षति पुग्यो। सडक पनि अवरूद्ध भएको थियो।

लेकसाइडको बाराही गल्ली र वडा नम्बर ४ को फिर्केखोला नजिकै बुढानीलकण्ठ क्रियाकर्म अगाडि १५ मिटर सडक भासिएको छ। यसरी भासिएको ठाउँमा महानगरले डोजर प्रयोग गरेर पुर्ने गरेको छ। भुगर्भविद्हरू भने यसलाई दीर्घकालीन समाधान ठान्दैनन्।

मानिसले निम्त्याएको विपद

वडा नम्बर २५ सुइखेत डुबानको कारण चौरासी नहर फुट्नु र पहिरो जानु होइन। वर्षाको भेल बगेर जाने निकास नपाउँदा बस्ती डुबानमा परेको वडा अध्यक्ष मोतिलाल तिम्सिनाको भनाइ छ। उनका अनुसार बस्ती बसाउन गरिएका अव्यवस्थित प्लटिङ र सरकारले राष्ट्रिय गौरव घोषणा गरेको मध्यपहाडी लोकमार्ग सुइखेत डुबानका मुख्य कारण हुन्।

मध्यपहाडी लोकमार्गको पोखरा खण्डको करिब पूरा भएको छ। बस्तीभन्दा अग्लो सडक सुइखेत हुँदै बागलुङतर्फ सोझिएको छ। लोकमार्गले सुइखेतमा जम्मा हुने पानीको निकास थुनिदिएको वडा अध्यक्ष तिम्सिनाले बताए।

सरकारले सडक बनाउँदा पानीलाई निकास नदिएजस्तै बस्ती विकासमा पनि लापारवाही भएको तिम्सिनाको भनाइ छ। बस्ती बस्नुअघि सुइखेत ढापखेत थियो। त्यहाँ पोखरेली जेठोबुढो धान लहलह झुल्थ्यो।

ुढाप पुरेर प्लटिङ गरियो। पानी बग्ने खोल्साहरू पुरिए, वडाध्यक्ष तिम्सिनाले भने, जथाभावी बस्ती विकासले सुइखेत डुबानमा पर्‍यो।ु तत्कालका लागि सुइखेतमा जम्मा भएको पानी व्यक्तिगत जग्गा काटेर निकास दिएको उनले बताए। यो दीर्घकालीन समाधान भने होइन। पहिलेदेखि मूल फुट्ने र दलदले जमिन पुरेर प्लटिङ गर्नु नै सबैभन्दा ठूलो समस्या भएको उनको भनाइ छ।

सबै निकास प्लटिङले पुरिएको छ। खेत हुँदा कुलो कहाँ थियो, पानीका निकास कहाँकहाँ थियो, नक्सा हेरेर निकास दिनुपर्छ, उनी भन्छन्, यसो गर्न सकिएन भने यस्तो विपत्ति फेरि पनि आउन सक्छ।

वडा नम्बर १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सनाले बस्ती विकास योजनाबद्ध नहुँदाको परिणामस्वरूप अहिलेको क्षति भोग्नु परेको उनले बताए। उनको वडामा पनि ११ गते रातिको अविरल वर्षा र पहिरोले दुई वटा घर बगाएको छ, एघार वटा घर बस्न नमिल्ने गरी जोखिममा परेका छन्। कम्तीमा तीन सय रोपनी खेतीयोग्य जमिन पुरिएको छ।

बाढी र पहिरोले एउटा पाखो नै चिरिएर बसेकाले जुनसुकै बेला फेरि ठूलो पहिरो जान सक्ने तिमिल्सिनाले बताए। समस्याको दीर्घकालीन समाधानका लागि मेयर र उपमेयरलाई आग्रह गरेको पनि उनले बताए। वडा नम्बर १६ को महेन्द्रपुल नजिकै तीन वटा घरमा भ्वाङ परेको छ। खहरे खोला उर्लिएर ग्रामीण सडकमा क्षति पुगेको छ।

विपदलाई निम्तो दिने गरी अहिले पनि पोखराका संवेदनशील क्षेत्रहरूमा प्लटिङ भइरहेको छ। रामसार सूचीमा सूचिकृत फेवाताल सिरान पामेबजारमा पनि यसरी नै रातारात प्लटिङ गरेर जग्गा बिक्री भइरहेको छ।
रामसार सूची विश्वका महत्वपूर्ण सिमसार क्षेत्रको सूची हो।

फेवातालको मुहान हर्पन खोला किनारमा प्लटिङ गर्दा राति काम गरेर बेचबिखन हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ। गत वर्षको जस्तै बाढी आए उक्त प्लटिङ बगाउन सक्ने उनीहरूको भनाइ छ। सेती नदी किनारदेखि ५० मिटरभित्र घर र अन्य संरचना बनाउन नपाउने गरी मापदण्ड तोकिएकोमा २०७४ मा निर्वाचित जनप्रतिनिधिले पाँच मिटरमा झारिदिएका थिए।

गत वर्षमात्र सेती किनारका पाँच घर भासिएर नदीमा पुगे। जथाभावी प्लटिङ र बस्ती विकास रोकेर योजनाबद्ध विकासमा अघि बढ्न विज्ञहरूले सुझाव दिइरहे पनि महानगरले वास्ता गरेको छैन। सरकारले बनाएको जग्गा विकास मापदण्ड र पोखरा महानगरले बनाएको मापदण्डको समेत अनुगमन हुन सकेको छैन।

पोखरामा सार्वजनिक वा निजी संरचना बनाउनुअघि भौगर्भिक अध्ययन गर्नु पर्ने जिओटेक इञ्जिनियर नारायण गुरुङको भनाइ छ। पोखराको भूगोलका विषयमा अध्यन गरेका गुरुङले अन्यत्र भन्दा पोखराको जमिन संवेदनशील भएकाले माटो परीक्षण गरेर भौतिक संरचना निर्माण गर्न सुझाव दिन्छन्।

ुबसोबासका लागि पोखरा ठीक छैन भनेर हल्ला चलाउँछन्, त्यस्तो होइन, उनी भन्छन्, कुनै ठाउँमा एक तले घर बनाउन पनि नमिल्ने जमिन छ। कुनै ठाउँमा २० तला बनाए पनि फरक पर्दैन। अध्ययन गरेर बनाउनुपर्‍यो।

गुरुङका अनुसार पोखराका खुला ठाउँ मासिँदै गएपछि वर्षाको भेल सडकमै खोला बनेर बग्ने गरेको छ। यसरी बगेको पानीले जमिनभित्र छिर्ने ठाउँ भेटाए भित्रको चुन पग्लेर बग्ने र भ्वाङ पर्ने उनको निष्कर्ष छ।

सडक र घरले पोखरा भरिनुअघि खुला ठाउँमा यस्ता भ्वाङ पर्ने गरेको उनले बताए। अर्मला क्षेत्रमा पर्ने भ्वाङ र पोखराको तल्लो बजार क्षेत्रमा पर्ने भ्वाङका प्रकृति फरक रहेको उनको भनाइ छ। सडकबाट पानी तर्काउन ठूलो र बलियो नाली बनाउनु पर्छ। सुइखेतमा डुबान र पहिरोको मुख्य कारण अव्यवस्थित बसोबास नै हो। मध्यपहाडी लोकमार्ग बनाउँदा पानीलाई निकास नदिएको र ढापखेत पुरेर पानीको निकास थुनिएको सुइखेत डुबानमा परेको उनले बताए।

सुइखेतमा सस्तोमा जग्गा किन्न पायौं भनेर धेरै मानिस म्याग्दी लगायतका जिल्लाबाट आएर बसेका रहेछन्, उनले भने, ढाप पुरेर पानीको निकास नछाडी प्लटिङ गरिएको ठाउँमा घर बनाउँदा डुबानमा परिन्छ भनेर कसैले भनेनन्, रोक्न पनि खोजेनन्।

पहाडको फेदमा घर बनाउँदा पहिरोले पुरिनु पनि प्राकृतिक रूपमा स्वाभाविक प्रक्रिया भएको उनको भनाइ छ। घर बनाउँदा माटो परीक्षण गर्न सरकारले अनिवार्य गरे पनि पोखरा महानगरमा लागू हुन सकेको छैन। गुरुङ भन्छन्, माटो परीक्षण गराउन पोखरा महानगरले वैज्ञानिक नीति लिनु पर्छ। जग्गाधनी पनि चनाखो हुनुपर्छ।

पोखराको सुइखेतमा पानीले निकास नपाउँदा डुबानमा परेको बस्ती। तस्बिर सौजन्यः भुवन अधिकारी।
मेयर भन्छन्– भूगोल अध्ययन नगरी कुनै काम गर्दिनँ

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको भौगोलिक संवेदनशीलता अध्ययन गरेर मात्र बस्ती बसाउने र विकास निर्माण अघि बढाउने बताए। यसका लागि फ्रेन्च प्रोफेसरको टिमलाई आमन्त्रण गरेको उनले बताए।

पोखराको जिओलोजिकल सर्भे गर्न फ्रेन्च टोलीसँग सम्पर्क भएको छ। आठ महिनामा सर्भे सक्छौं, उनले भने, सर्भे प्रतिवेदनका आधारमा मात्र पोखराको कुन ठाउँमा कति अग्लो घर बनाउने, विकास निर्माणका संरचना कसरी बनाउने भनेर निर्णय लिन्छौं।

अहिले पनि जथाभावी प्लटिङ भइरहेकोतर्फ आफ्नो ध्यानाकर्षण भएको र तत्काल रोक्न निर्देशन दिएको पनि आचार्यले बताए। सुइखेत डुबान, पहिरो र भ्वाङ पर्ने समस्याबाट पाठ सिकेर अघि बढ्ने उनको भनाइ छ।

डुबान, भ्वाङ र पहिरो गएका स्थानमा तत्काल के गर्न सकिन्छ भनेर पृथ्वीनारायण क्याम्पस भूगोल विभागका प्रोफेसरहरूलाई अध्ययन गर्न आग्रह गरेका छौं, उनले भने, उहाँहरूका सुझावका आधारमा कार्यक्रम बनाउँछौं।

उनका अनुसार सहरी विकास मन्त्रालयले पोखराको पानी व्यवस्थापनमा छुट्टै निर्देशन गरेको छ। नेपाल सरकार र महानगरले तोकेका मापदण्ड विपरीत जग्गा विकासका अनुमति नदिने उनले बताए।
अहिले जग्गा विकासको अनुमति दिएका छैनौं अध्ययन नगरी दिँदैनौं, उनले भने, लुकिछिपी भइरहेका प्लटिङ रोक्न निर्देशन दिएको छु। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com