Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

नुन पाउन पनि नागरिकता पेस गर्नुपर्ने

हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो । 

उनीहरूलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए । उनका अनुसार एक जनाबाट ९० लिने गरिएको छ । ‘यसरी प्रतिकिलो रु नौ पर्दछ । एक बोरामा पचास प्याकेट नुन हुन्छ । त्यसको मूल्य ४ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ,’ उनले भने ।

प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेस गरेपछि नुन वितरण गरिन्छ । सदरमुकाम सिमकोटमा तीन पालिकासहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उनको भनाइ छ ।

लामाका अनुसार आर्थिक वर्ष २०८०–८१ का लागि जिल्लामा एक हजार पाँच सय क्विन्टल नुन आइपुगेको छ । जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिने उनले बताए । झण्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको भन्दै चङ्खेली गाउँपालिकामा तीन सय ८७, सर्केगाडमा चार सय ८५, अदानचुलीमा चार सय ८५ र ताँजकोटमा चार सय क्विन्टल नुन वितरण जानकारी दिए  ।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताए । चङ्खेली–५ को नेप्का र उत्तरी नाम्खा– ६ को लिमिमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको उनले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहमा रहेका वडामा ढिके नुनको प्रयोगमा कमी हुँदै गएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com