Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सुदूरपश्चिममा तीन वर्षमा १२४६ सवारी दुर्घटना, पाँच सय बढीको मृत्यु

सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका ९ वटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन ।

पछिल्लो तीन वर्षमा एक हजार दुई सय ४६ सवारी दुर्घटना भएको र पाँच सय बढीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको देखिएको छ ।

उक्त सवारी दुर्घटनामा परेर यहाँ पाँच सय तीनको ज्यान गएको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन् । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै यहाँ एक सय ८७ सवारी दुर्घटना भएकामा एक सय २१ जनाले ज्यान गुमाएका छन् । यो आवमा एक सय ४६ गम्भीर र एक सय ५७ सामान्य गरी तीन सय तीन जना घाइते भएका छन् ।

यस्तै गत आव २०७८-७९ मा पाँच सय एक सवारी दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका छन् । आव २०७७-७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा एक सय ८६ जनाको मृत्यु भएको छ । यी दुई वर्षमा पनि सवारी दुर्घटनामा परेर सयौँ जना अङ्गभङ्ग भएका छन् ।

दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए । उनले भने, सवारी दुर्घटना हुने मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु नै हो, सबैले सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना निकै कम हुने देखिन्छ ।

सवारीसाधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन् । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्नु, ग्रामीण क्षेत्रमा पनि सवारीसाधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र सवारीचालक तथा सवारीधनीले प्रहरीलाई छलेर भए पनि क्षमताभन्दा बढी भार बोक्नुलगायतले सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन, मोबाइल प्रयोग गरेर सवारी चलाउनु, यात्रु बोक्ने साधनमा सवारीचालक र सवारीधनीले जनावरदेखि खाद्यान्नसम्म बोकेर ग्रामीण क्षेत्रमा गाडी चलाउने र त्यसतर्फ प्रहरीको ध्यान कम जाँदा बढी दुर्घटना भइरहेको छ । यस्तै सवारीका कारण हुने दुर्घटनामा सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन् ।

जस्तै चढ्दा र ओर्लँदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपुर्‍याएर पनि दुर्घटना भएका छन् । सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी–पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के जाँच, टाइमकार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेला–बेलामा सचेत गराउने कार्य गरेको छ ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com