Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज

नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन टुंग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार सम्पन्न स्थायी समिति बैठकले प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो।

माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा सावित्रीकुमारी काफ्ले, मधेशको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ।

यसैगरी, गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालीबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य विना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकले प्रवास प्रदेश समिति (मध्यपूर्व) इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ।

केही प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको प्रवक्ता सापकोटाले जानकारी दिए। बैठकले संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि आ–आफ्नो निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय गरेको छ।

आगामी चैत १ गतेदेखि गर्ने भनिएको मधेश–तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गतेदेखि गर्ने निर्णयसमेत बैठकले गरेको छ। समय अपुग भएकाले तयारीका लागि उक्त अभियान १५ दिन पछि सारिएको प्रवक्ता सापकोटाले बताए। उनका अनुसार बैठकले हिमाल, पहाड, मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

बैठकले मिटरब्याजी तथा लघुवित्त समस्याबारे भइरहेको वार्तालाई सार्थक निष्कर्षमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ। साथै दुग्ध किसानलगायतका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको प्रवक्ता सापकोटाले जानकारी दिए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com