Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

कलेजका अनुशासन विभाग प्रमुखको कर्तुत- छात्रालाई बेहोस बनाएर पटक-पटक बलात्कार

कुनै पनि खेलकुदकर्मीका लागि सबैभन्दा महत्वको विषय हुन्छ, अनुशासन। विराटनगरका सुरज सुवेदी (नागरिकताको नाम अमर सुवेदी) कराँते खेलका सरकारी नियुक्ति पाएका प्रशिक्षक मात्रै थिएनन्, एउटा कहलिएको नर्सिङ कलेजमा ‘अनुशासन विभाग’ प्रमुख पनि थिए।

विद्यार्थी र आफ्ना प्रशिक्षार्थी खेलाडीलाई हरदम अनुशासनको दायरामा बाँधिएर बस्न सिकाउने जिम्मेवारी पाएका तिनै सुवेदी यतिबेला बलात्कार आरोपमा प्रहरी हिरासतमा छन्। आफै अनुशासन विभाग प्रमुख रहेको नर्सिङ कलेजकी १९ वर्षीया छात्रालाई आफूले मात्रै नभई साथीसमेत बोलाएर बलात्कार गरे–गराएको अभियोगमा उनी र उनका साथी विनोद राउत प्रहरी नियन्त्रणमा छन्।

साउन ८ मा यी दुवै अभियुक्त जसै पक्राउ परे, उनीहरूको कर्तुत पनि एकपछि अर्को गर्दै बाहिरिन थालेको छ। मोरङ जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा ती छात्राले दिएको बयान अनुसार सुवेदी र राउतले ती छात्रालाई कहिले नशालु पदार्थ खुवाएर अनि कहिले बन्धक बनाएर पटकपटक बलात्कार गरेको बताएकी छन्।

उनीहरूको आक्रमणबाट जोगिनकै लागि आफू तीन ठाउँ डेरा सरेको तर सबै ठाउँमा आएर जबरजस्ती गरेको बयान पीडितले दिएकी छन्। ५० वर्षीय सुवेदीले अश्लिल भिडिओ सार्वजनिक गरिदिने धम्की दिएर बलात्कार गरेको उनको भनाइ छ।

विराटनगरस्थित विराट हेल्थ कलेजमा तेश्रो वर्षमा डी फार्मेसी अध्ययनरत छात्राले आफूलाई परीक्षामा चिट दिएर कलेजका अनुशासन विभाग प्रमुख सुरज सुवेदीले नजिकिन खोजेको बताएकी छन्।

‘४ महिना पहिला मेरो दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेको थियो। त्यसबेला सुवेदीले चिट दिन खोज्दा मैले लिन मानिनँ, उहाँ मेरो छेउमा चिट फुत्त फ्याँकेर बाहिर निस्कनुभयो,’ पीडित छात्राले बयानमा भनेकी छन्, ‘परीक्षा सकेपछि म कोठामा गएँ। सुवेदी मेरो पछिपछि मेरै कोठा आइपुगेछन्। उनले त्यहीबेला पानीमा नशालु पदार्थ खुवाएर मलाई बेहोस बनाएर बलात्कार गरेको भिडिओ बनाएछन्।’

सुवेदी कोठामा आएको भोलिपल्ट बिहान मात्रै आफू ब्युँझेको बयान दिँदै पीडितले भनेकी छन्, ‘भोलिपल्ट ब्युँझिदा कोठामा बियरको बोतल, चुरोटका ठुटा र कागज छरपष्ट थिए। बेड कभरमा रगतको टाटै टाटा थियो। मेरो भित्री वस्त्रसमेत शरीरमा थिएन।’

आफ्नो भिडिओ बनाएको कुरा उनले घटनाको तीन चार दिनपछि मात्रै थाहा पाइन्। आफ्नै शिक्षकबाट बलात्कृत भएपछि उनी कलेज नगइ कोठामै बसिरहेकी थिइन्। सुवेदी फेरि उनको कोठामा आए।

‘मैलेको घटनाबारे प्रतिवाद गरें, यसबारे अरूलाई सुनाइदिन्छु भनेँ,’ बयानमा पीडितले भनेकी छन्, ‘त्यो बेला सुवेदीले अश्लिल भिडिओ देखाए। म रुन मात्रै सकेँ।’

सुवेदीले त्यही भिडिओ भाइरल बनाइदिने धम्की दिएर आफूलाई पटकपटक बलात्कार गरेको ती छात्राको बयानमा उल्लेख छ।
‘भिडिओ सार्वजनिक होला र मेरो बेइज्जत होला भन्ने डरले घटनाको बारे कसैलाई बताउन सकिनँ,’ उनले बयानमा भनेकी छन्, ‘त्यसपछि हरेक दिउँसो मेरो कोठामा प्रायः बियर लिएर आउने, खानेकुरा बनाउन लगाउने, भनेको नमाने भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै लगातार जबरजस्ती गर्न थाले।’

सुवेदीले आफूलाई क्याम्पस जानबाट रोक लगाएको र गए पनि गेटबाटै फर्काइदिएको पनि उनले बताएकी छन्। गएको वैशाख जेठतिर सुवेदीले विराटनगरकै एक होटलमा पुर्‍याएर साथीसमेत बोलाएर सामूहिक बलात्कार गरेको उनको भनाइ छ।

‘होटलमा बियर खाएपछि सुवेदीले फोन गरी बिनोद भन्ने साथीलाई बोलायो। हामी बियर र गर्लफ्रेण्ड सेयर गर्नुपर्छ भन्दैथियो,’ उनले बयानमा भनेकी छन्, ‘त्यसपछि विनोद भन्ने मान्छेसमेत आएर मलाई जबरजस्ती सरको डरले मैले यो पनि कसैलाई भन्न सकिनँ।’

लगातार कोठामै आएर सताउने र कलेज समेत जान नदिने भएपछि उनले यसबारे सुवेदीका छोरालाई घटना सुनाएको तर वास्ता नगरेको बयान दिएकी छन्। जेठ महिनाको अन्तिमतिर जबरजस्ती सुंखवासभा पुर्‍याएर बलात्कार गरेको उनले बताएकी छन्। अन्तिमपटक सुवेदी असार ३० मा आफ्नो कोठामा आएको र आफूले अब यो कुनै काम गर्न नसक्ने बताएपछि सुवेदी फर्केको उनले बयान दिएकी छन्।

निरन्तर कलेजमा उनी अनुपस्थित रहेपछि कलेजले घरमा सम्पर्क गरेर छोरी कलेज नआएको धेरै दिन भइसकेको सूचना दिएको थियो। ‘कलेजले त्यस्तो खबर गरेपछि भेट्न गयौं,’ पीडितको पारिवारिक स्रोतले भन्यो, ‘त्यसक्रममा कुरा बुझ्दा कलेजकै अनुशासन विभाग प्रमुखले त्यस्तो गरेको सुनेपछि प्रहरी गुहार्यौं।’

साउन ८ मा उनीहरू दुवै अभियुक्तलाई प्रहरीले समात्यो। गएको बिहीबार प्रहरीले अदालतमा मुद्दा दायर गर्यो। अहिले मोरङ जिल्ला अदालतमा अभियुक्त दुवैको थुनछेक बहस जारी छ।

अभियुक्त दुवै जना कराँतेका प्रशिक्षक हुन् भने राउत विराटनगरका कहलिएका व्यवसायी हुन्। घरजग्गा, होटल व्यवसायमा उनी सक्रिय छन्। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com