Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकियो

काठमाण्डाै – पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ । कालोपत्रका लागि आवश्यक पर्ने कच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ ।

भारतबाट आउनुपर्ने बिटुमिन भन्सारमा रोकिएको कारण कालोपत्रको काम हुन नसकेको योजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताउनुुभयो । उहाँका अनुसार यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्न मिल्ने गरी तयारी भइसकेको छ ।

बिटुमिन आएलगत्तै कालोपत्र गर्ने गरी निर्माण व्यवसायी तयारी अवस्थामा रहेको र आठ किलोमिटर कालोपत्र गर्ने बेलासम्म थप आठ किलोमिटर सडक कालोपत्र गर्ने तयारीमा पुग्ने खनालको भनाइ छ । सडक निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह–व्यवस्थापक राकेश झाले सडक कालोपत्र गर्न प्रयोग गरिने बिटुमिन भन्सारमा आइसकेको र अब केही दिनमै कामलाई निरन्तरता दिने बताउनुुभयो ।

गैँडाकोटको पुलचोकदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमा पहिले एकतर्फी कालोपत्र गर्ने गरी काम अगाडि बढाउन निर्माण पक्षलाई निर्देशन दिइएको इन्जिनियर खनालको भनाइ छ । एकैपटकमा दुईतर्फी कालोपत्रको काम गर्दा यात्रामा समस्या देखिएकाले पहिले एकतर्फी कालोपत्र गरेर यात्रालाई सहज बनाउन लागिएको हो ।

पूर्वी खण्डमा अहिलेसम्म २१ किलोमिटरमात्र एकतर्फी सडक निर्माण सकिएको खनालले बताउनुुभयो । उहाँका अनुसार दाउन्नेमा पाँच किलोमिटर सडक भौगोलिक अवस्थाका कारण तीन लेनको हुनेछ भने अरु ठाउँमा चार लेनमा सडक विस्तार भइरहेको छ । सहरी क्षेत्रमा भने थप दुई लेन सडक विस्तार गर्ने गरी काम भैरहेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com