Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

उपत्यकामा सवारी दुर्घटनाः ६ महिनामा ८८ को मृत्यु

गत पुस २८ मा काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौंको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स गौतम र छोरी स्मारिका गौतमको ज्यान गयो ।

बाटोको दूरावस्था र घुम्तीका कारण उक्त दुर्घटना भएको जनाइएको छ । लामो समयदेखि काठमाडौंबाट मकवानपुरको चित्लाङ जाने बाटो भए पनि अहिलेसम्म उक्त बाटो कालोपत्रे हुन सकेको छैन । यस्तै, गत वर्ष फागुन २४ गते साँझ काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा ५० वर्षीय सञ्चारकर्मी पवनलाल श्रेष्ठको ज्यान गयो ।

साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट बह्मखेल जाँदै गरेको बा ५ ख २४१४ नम्बरको टिपरले सञ्चारकर्मी श्रेष्ठले चलाएको बा ९४ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।

सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो । खड्काले चलाएको बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

माथि उल्लेखित प्रतिनिधिमूलक घटना मात्र हुन् । काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । आफूले ठीक ढङ्गबाट सवारीसाधन चलाउँदा चलाउँदै पनि अर्को सवारीसाधनका कारण अकालमा ज्यान गुमाउनुपरेको इतिहास छ । यस्तै, जथाभावी सवारीसाधन चलाउनु र बाटो काट्नुले पनि दुर्घटना बढेको पाइन्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म पाँच हजार आठ सय ६५ सवारी दुर्घटना हुँदा ८८ जनाले अकालमै ज्यान गुमाउनुपरेको छ । यस्तै, एक सय ४८ जना गम्भीर घाइते भएका छन् भने चार हजार चार सय ३८ जना सामान्य घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा सवारीसाधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ । काठमाडौं उपत्यकामा सवारीसाधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला काठमाडौं उपत्यकाभित्र जथभावी ढङ्गले दुईपाङ्ग्रे सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको बताउँछन् । ‘उपत्यकाभित्र मोटरसाइकल तथा स्कुटर जथाभावी कुँदाउने र पैदलयात्रुले पनि जथाभावी ढङ्गले बाटो काट्दा बढी दुर्घटना भएको देखिन्छ’, उनी भन्छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारीसाधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन् । ‘दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारीसाधन चलाउन नपाइने नियम, सवारीसाधनको स्थिति जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनलगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ’, उनले भने ।

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा विभिन्न कसुरमा चार लाख ५० हजार सात सय २९ सवारीसाधनलाई कारबाही गरेको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १८ हजार छ सय २७ चालकलाई कारबाही गरेको छ । यस्तै, लेन अनुशासनमा २९ हजार चार सय दुई, तीव्रगतिमा ६१ हजार आठ सय ४३, रातो बत्तीमा १३ हजार तीन सय सात, फुटपाथ सडक पार्किङमा ५९ हजार आठ सय ५७, बढी भाडामा दुई सय १४, नो हर्नमा छ हजार दुई सय ७०, ओभरलोडमा तीन हजार तीन सय ३७ सवारीसाधनलाई कारबाही गरेको छ ।

मुलुकभर सवारी दुर्घटना बढेपछि सरकारले यातायात क्षेत्रको समग्र अवस्थाबारे अध्ययन गर्न नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ‘यातायात सुधार सुझाव कार्यदल’ निर्माण गरेको थियो । उक्त कार्यदलले झण्डै एक वर्ष लगाएर मुलुकको यातायात क्षेत्रको समग्र अवस्थाबारे अध्यययन गरेर सरकारलाई सुझाव हस्तान्तरण समेत गरिसकेको छ । उक्त कार्यदलको प्रतिवेदनअनुसार सडक यातायात दुर्घटनाको प्रमुख जोखिम क्षेत्र नै हो । नेपालमा प्रत्येक वर्ष करिब तीन हजार सर्वसाधारणको सवारी दुर्घटनामा परी ज्यान जाने गरको प्रतिवेदनले औँल्याएको छ ।

प्रत्येक दिन नेपालमा औषत आठ जनाको मुत्यु दुर्घटनाबाट भएको प्रतिवेदनमा उल्लेख छ । सडक दुर्घटनामा सबैभन्दा बढी कम उमेर समूह १५ देखि २९ वर्षसम्मका सर्वसाधारणको ज्यान जाने गरेको तथ्य पनि प्रतिवेदनमा छ । दुर्घटनामा संलग्न सवारीसाधनमा मोटरसाइकलको हिस्सा सवैभन्दा धेरै ५० दशमलव ७२ प्रतिशत छ ।

दुर्घटनावाट मृत्यु हुनेमा युवा समूह बढी रहेको उक्त तथ्याङ्कले देखाउँछ । नेपालमा बर्सेनि सडक दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या ११ हजारभन्दा बढी रहेको छ । उक्त सङ्ख्या प्रत्येक वर्ष वृद्धि भइरहेको प्रतिवेदनले औँल्याइएको छ । काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन् । ‘चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्’, उनी भन्छन् ।

काठमाडौं उपत्यकामा भने साँघुरो बाटो र तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको उनको भनाइ छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौं उपत्यकाभित्र (काठमाडौं, भक्तपुर र ललितपुर) को सवारी व्यवस्थापनका लागि प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी परिचालित छन् । हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र झण्डै १८ देखि २० लाख सवारीसाधन सञ्चालनमा रहेको तथ्याङ्क छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com