Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

स्वतन्त्र उम्मेदवार साहले भने : म कांग्रेस नै हुँ

जेठ, ११ काठमाडौं । पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह आज नेपाली कांग्रेसकै विजय र्‍यालीमा सहभागी भए ।

उपमेयरमा कांग्रेसबाट निर्वाचित किशोरी साह, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगनारायण पजियारसँगै उनी पनि विजय र्‍यालीको अग्रपंक्तिमा थिए ।

कांग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर मेयरको स्वतन्त्र उम्मेदवार बनेका साह आज कांग्रेसले नै आयोजना गरेको र्‍यालीमा सहभागी हुँदा धेरैले आश्चर्य माने।

तर साह भने आफू कांग्रेस नै भएको र कांग्रेसले नै मतदान गरेर जिताएका कारण र्‍यालीमा सहभागी भएको बताउँछन् । ‘मलाई कांग्रेसीले नै जिताएको हो । उनीहरुप्रति आभार प्रकट गर्न कांग्रेसकै विजयी जुलुसमा सहभागी भएको हुँ’ साहले भने ।

सभापति भएपछि आफैंले उपमहानगरपालिकाको वडास्तरमा संगठन बनाएको र सबै वडाका सभापतिको समर्थनमा आफू मेयरको उम्मेदवार भएको बताए।
आफूले कांग्रेसबाट कुनै बिद्रोह नगरेको भन्दै साहले कांग्रेसमा फर्किन सक्ने पनि बताए । ‘यसबारे साथीहरुसँग सल्लाह गरिरहेको छु’ उनी भन्छन्, ‘म कांग्रेस नै हुँ

निधि फ्याक्टरले गरेको काम

निर्वाचनको तीन दिनअघि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको एउटा भिडियो सार्वजनिक भएको थियो । उनले भिडियोमा जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवारहरुलाई जिताउन मतदातासँग आग्रह गरेका थिए ।

उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साह मेयर पदका उम्मेदवार थिए । तर निधिले गठबन्धनका उम्मेदवारलाई मत नमागीकन कांग्रेसका उम्मेदवारलाई मत दिएर निर्वाचित गराउन मतदातासँग आग्रह गरेका थिए ।

भिडियोमा उनले भनेका थिए, ‘उपमेयरको पदमा मात्रै कांग्रेसको उम्मेदवार किशोरी साह छन् । २५ वटै वडामा वडाअध्यक्ष र सदस्यका उम्मेदवार छन् । त्यहाँ कुनै गठबन्धन छैन् । त्यसैले मतदातासँग गाछी छापमा मोहर लगाएर किशोरी साहसहितका नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु ।’

उनले जनकपुरधामको आफ्नै क्रान्तिकारी परम्परा र इतिहास रहेको भन्दै सबै कांग्रेसीलाई निर्वाचित गराएर परम्परालाई कायम राख्न आग्रह गरेका थिए ।
सार्वजनिक रुपमै भिडियो बनाएर कांग्रेसका उम्मेदवारलाई मात्रै मत दिन भन्नुको मतलव गठबन्धनका मेयरका उम्मेदवारलाई मत दिन नहुने आशय देखिएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका साह निधि निकट मानिन्छन् । निधि निकट रहेका कांग्रेस धनुषाका सभापति योगनारायण पजियार, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव पनि निधि निकट नै मानिन्छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com