Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

बागलुङको पाँच पालिका अझै भाडाकै घरमा

messenger sharing button

बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन्। जैमिनी, गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन्। निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन  छ। ती मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन सुरू गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको थियो। जैमिन, ढोरपाटन र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन्।

काठेखोलाको भने अझैसम्म भवन निर्माण सुरुआत भएको छैन। करिब छ वर्षसम्म स्थानीयको विवादका कारण जग्गा व्यवस्थापन हुननसकेको जनाइएको छ। अघिल्लो वर्ष कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोटमा भवन निर्माण गर्ने निर्णय गरे पनि निर्माण गर्ने भनिएको स्थान सामुदायिक वन क्षेत्र पर्ने हुँदा बाँकी प्रक्रिया पुर्याइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए। सामबोट सामुदायिक वन उपभोक्ता समितिले भवन बनाउन दिने निर्णय गरी मन्त्रालयमा पठाएपछि भवन निर्माणका काम थाल्ने उनको भनाइ छ । भवन निर्माणका लागि माटो परीक्षण गर्ने काम सकिएकाले आगामी आर्थिक वर्षमा भवन निर्माण अगाडि बढ्ने अध्यक्ष थापाले बताए।

ढोरपाटनले पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ। उसले ढोरपाटन– १ को बुर्तिबाङ बजारमै भवन निर्माण गरिरहेको छ। अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको नगरपालिकाका सूचना अधिकारी चण्डिराज पौडेलले जानकारी दिए। नगरपालिकाले दुईवटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको जनाउँदै हरेक महिना मासिक एक लाख ३० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उहाँको भनाइ छ।

गलकोटले पनि भाडाकै घरमा कार्यालय सञ्चालन गरेको छ। गलकोट– ६ स्थित मजुवा फाँटमा करिब रु १४ करोडको लागतमा प्रशासनिक भवन निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण सापकोटाले जानकारी दिए। नगरपालिकाले आठ घर भाडामा लिएर मासिक एक लाख ८० हजार रुपैयाँ भाडा तिर्दै आएको उनले बताए। भवन विसं २०८१ पुसमा सक्नेगरी सम्झौता भएको जनाइएको छ ।

जैमिनीले पनि कुस्मिशेरामा चार घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए। करिब नौ करोड रुपैयाँको लागतमा कुस्मिशेरा बजार नजिकै भवन बनिरहेको उनको भनाइ छ। हालसम्म ३५ प्रतिशत काम सकिएको जनाइएको छ। नगरपालिकाले मासिक एक लाख ६० हजार घरभाडा तिर्दै आएको छ। निर्माण कम्पनीले सरासर काम सके आगामी वर्ष आफ्नै भवनबाट सेवा सुरु गर्न सकिने उपप्रमुख शर्माको भनाइ छ। 

बागलुङ नगरपालिका विसं २०५३ मा स्थापना भयो। लामो समय बजारमा भाडा तिरेर कार्यालय सञ्चालन गर्‍यो। लामो समयसम्म बागलुङ– ३ स्थित रातमाटामा पक्की भवन बनाएर सेवा प्रवाह गर्दै आएको नगरपालिका आफ्नो कार्यालय छाडेर विसं २०७६ मा बागलुङ बजारमा रहेको कृषि ज्ञान केन्द्रको भवनमा स¥यो। हाल सोही कार्यालयबाट सेवा दिँदै आएको छ। जिल्लाका अन्य नौ पालिका विसं २०७३ मा स्थापना भएका थिए। पहिलोपटक जनप्रतिनिध आएपछि केही पालिकाले पहिलो कार्यकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले अहिलेसम्म भवन नै बनाउन सकेका छैनन्।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com