कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान
काठमाडौँं २१ चैत । प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको हो। प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो।
कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो। शव व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो।
जिल्ला प्रहरी कार्यालयले उक्त शव दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा विकको बच्चा रहेको जनाएको छ। प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो। आफैँले दाह संस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो। पवित्रा र उनका श्रीमान गोपालले प्रहरी समक्ष आफूहरुले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जङ्गलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुनसक्ने बताएका थिए।