Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सोती घटनाका पीडित परिवार भन्छन्- बल्ल न्याय पायौं

facebook sharing button
twitter sharing button

मंगलबार रूकुम जिल्ला अदालत (रूकुम पश्चिम) को फैसला सुनेपछि चौरजहारी–१ लामिछाने गाउँकी गीता नेपाली फेरि भक्कानिइन्।

अदालतमा केही दिनदेखि सोती घटनाबारे अन्तिम सुनुवाइ भइरहेको थियो। उक्त मुद्दामा अदालतले मंगलबार फैसला सुनाउँदै थियो। अदालतको फैसलाले उनलाई खुसी बनाएको थियो, साढे तीन वर्षअघि मारिएका छोराको झल्को फेरि बल्झिएर दुखाएको थियो।

मंगलबार साँझपख अदालतले सोती घटनाका २४ दोषीलाई जन्मकैदआदेशसहित फैसला सुनायो। यो फैसला सुन्नेबित्तिकै छोरा सम्झेर गीता भक्काइन्, आँसुले आँखा भरियो। 

उनका छोरा टीकाराम साढे तीन वर्षअघि मारिएका थिए। नवराज विक र टीकारामसहित त्यसबेला ६ जनाको हत्या भएको थियो। अदालतले छोराका हत्याका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएपछि गीता केही खुसी देखिन्थिन्।

२० वर्ष पुग्नै लागेको छोराको हत्या भएपछि गीताले न्यायका लागि काठमाडौं, सुर्खेतलगायत ठाउँ पुगेर आन्दोलनमा सहभागी हुनेदेखि रूकुम पश्चिम अदालतको ढोकासम्म पुगेकी थिइन्। 

मंगलबार अदालतको फैसलापछि ढिलै भए पनि न्याय पाएको अनुभूति गीतालाई भएको छ। 

‘हाम्रो छोरा त गुम्यो। तर यस घटनामा अदालतको फैसलाले हामीलाई न्याय दिएकोजस्तो लागेको छ,’ उनले भनिन्, ‘हाम्रा ६ जना छोराहरू गुमे पनि एक दिन न्याय मिल्छ भन्ने आश थियो। अब छोराहरूको आत्माले पनि शान्ति पाउनेछ।’

उनले जातीय विभेद गर्नेहरूमाथि सजाय कम भएको गुनासो गरिन्। 

सोती घटनामा अदालतले फैसला सुनाएपछि गीता मात्र होइन, नवराज विक र उनीसँगै हत्या गरिएकाहरूको परिवारले पनि न्याय पाएको महसुस गरेका छन्।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ का नवराजका बुवा मुनलाल विकले अदालतको फैसलाले न्याय मिलेको बताए।

‘हाम्रो छोरालाई मार्नेहरूलाई आजीवन कारावासको सजाय हुन्छ होला भन्ने ठानेका थियौं,’ उनले भने, ‘श्रीमान (जिल्ला न्‍यायाधीश) ले जन्मकैद तोक्नुभयो।’

छोरा गुमे पनि न्याय मिलेको उनले बताए। ‘छोरा त गुमायौं, अदालतले बल्ल न्याय दिएको छ, फैसलाले खुसी छौं,’ उनले भने। 

अदालतको फैसलाले छोरा गुमाएको पीडा केही भने पनि शान्त गराएको कुशे गाउँपालिका वडा नम्बर २ बर्खालेका पदम बुढा मगरले बताए। उनका छोरा गणेश बुढा मगर पनि सोती घटनामा मारिएका थिए।

‘हाम्रो छोरालाई कुटेर मारेका थिए। अपराधीहरूले अब सजाय भोग्नुपर्छ,’ उनले भने, ‘अदालतको फैसलाले पीडा केही शान्त भएको छ। अदालतले हामीलाई न्याय दिएको छ।’

उनका छोरा गणेश भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँमा नवराव विककै घरनजिकै डेरा गरी बस्थे। पदमले दुई छोरालाई पढाउन २०६४ सालदेखि डेरा गरी राखेका थिए। छोराहरूको हेरचाहका लागि पदम पनि राना गाउँमै बस्ने गर्थे। 

२०७७ साल जेठ १० गते राना गाउँका नवराज विकसहित १८ साथीहरू रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँ गएका थिए।

नवराजको मल्ल थरकी प्रेमिका थिइन्। उनले बोलाएपछि नवराज र उनका साथीहरू सोती गाउँ पुगेका थिए। परिवारले आफूलाई अन्यत्रै विवाह गर्न लागेको भन्दै ती प्रेमिकाले नवराजलाई बोलाएकी थिइन्।

अपराह्न करिब ५ बजेतिर सोती गाउँ पुगेका नवराजसहितलाई प्रेमिकाकी आमाले गाली गरेकी थिइन्। त्यसपछि उनीहरू फर्किए। मध्यपहाडी लोकमार्गनजिकै ठूलो ढुंगामा बसिरहेका बेला नवराजसहित उनका साथीहरूमाथि आक्रमण भएको थियो। घरेलु हतियारसहित उनीहरूमाथि आक्रमण भएको थियो।

सोती गाउँका स्थानीय बासिन्दा नै आक्रमणमा उत्रिएका थिए। दलित युवाले मल्ल थरकी युवतीलाई विवाह गर्न लागेको भन्दै गाउँलेहरूले नवराजसहित उनका साथीहरूमाथि कुटपिट गरेका थिए। 

कुटपिट सुरू भएको करिब आधा घन्टामा प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले १२ जना घाइतेको उद्धार गरेको थियो। 

घटनामा भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक, १७ वर्षीय गणेश बिएम (बुढा मगर), २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको हत्या भएको थियो।

उनीहरुको शव फरक-फरक दिन, भेरी नदीको बेग्लाबेग्लै ठाउँमा परेको थियो।

२०७७ जेठ १३ गते पीडित परिवारले सोती गाउँका तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। प्रहरीले जाहेरी र बयानका आधारमा ३४ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। पक्राउ परेकाहरुविरुद्ध ०७७ जेठ ३२ गते अदालतमा मुद्दा दायर भएको थियो।

थुनछेक बहसका क्रममा नवराजकी प्रेमिका, उनका भाइसहित ११ जनालाई साधारण तारेखमा रिहा भएका थिए। युवतीका बुवा र दाइसहित अरु २३ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको थियो।

उक्त मुद्दाको अन्तिम सुनुवाइपछि जिल्ला अदालतले थुनामा रहेका २३ जना र साधारण तारेखमा छोडिएकामध्ये एक जनालाई जन्मकैद तोकेको छ।

चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित डिल्लीबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, इन्द्रबहादुर भन्ने इदबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रमेशबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, विष्णु मल्ल, परिवर्तित नामहरु ५४ रुकुम पश्चिम (३६) १, ५४ रुकुम पश्चिम (३६) ३ र ५४ रुकुम पश्चिम (३९) ले जन्मकैद पाएका छन्।

परिवर्तित नाम भएका युवतीका बुवा, दाजु र भाइ हुन्। युवती र उनकी आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

जन्मकैद पाएकामध्ये पनि मल्ल र ठकुरी थर भएकाहरुलाई अदालतले कर्तव्य ज्यान मुद्दासँगै जातीय विभेदसम्बन्धी मुद्दा लगाएर सजाय थप गरेको छ।

जन्मकैद पाएका २४ जनाबाट जनही ४० हजार रुपैयाँ जरिवाना गराई पीडित परिवारलाई दामासाही दरले वितरण गर्न पनि आलतले आदेश गरेको छ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि मंगलबारसम्म चलेको मुद्दाको अन्तिम सुनुवाइमा २३ जना वकिलले बहस गरेका थिए। तीमध्ये १८ जनाले वादीतर्फबाट र पाँच जनाले प्रतिवादीका तर्फबाट बहस गरेका थिए। सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com