Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गोरखा : बजार अभावमा उत्पादित दूध खेर फ्याँक्नु परेपछि किसान मर्कामा

 

गोरखा – गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, मा रहेकाे जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूध बिक्री नभए पछि खेर फ्याँक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिनुभयो।

फार्ममा दैनिक चारसय लिटर दूध उत्पादन गर्दै आएको भए पनि प्रत्येक दिन आधाजसो दूध गाईलाई खुवाउनुपर्ने अवस्था रहेको उहाँले दुखेसो पोख्नुभयो । ‘सदरमुकामसहित जिल्लाभित्रका मुख्य बजारमा बाहिर जिल्लाबाट दूध आयात हुन्छ, सञ्चालक बस्नेतले भन्नुभयो, ‘तर किसानले उत्पादन गरेको दूध बिक्री नभएपछि गाईलाई नै दूध खुवाउनु परेको छ ।’

उहाँले उत्पादन भएकोमध्ये करिब दुई सय लिटर दूध भने गोरखा बजार क्षेत्रमा घरघरमा पुर्याएर दैनिक बिक्री गर्ने गरेको जानकारी दिनुभयो । किसान बस्नेतले भन्नुभयो ‘बाँकी आधा भन्दाबढी दूध बिक्री नभएपछि कि त गाईलाई खुवाउनुपर्छ छ कि फ्याँक्नुपर्ने अवस्था छ ।’उत्पादित दूधले बजारमा पाए मासिक साढे दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो ।

‘दैनिक चारसय लिटर दूध राम्रोसँग बिक्री भए दैनिक २६ हजार रुपैयाँ बराबर कारोबार हुन्छ, बस्नेतले भन्नुभयो, ‘त्यसबाट खर्च कटाएर मासिक रुपमा राम्रो आम्दानी हुनेथियो ।’ बिक्री नभएको दूध राख्न ठूला चिस्यान केन्द्र नहुँदा बिक्री नहुने बित्तिकै खेर फाल्नुपर्ने अवस्था रहेको छ ।

फर्मबाट दैनिक एक हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । अहिले दुहुनाबाहेक पनि ५४ वटा कोरली गाई ब्याउने रहेको बस्नेतले बताउनुभयो । ‘सबै गाई ब्याएसँगै अब दैनिक करिब एकहजार दूध उत्पादन हुन्छ, उहाँले भन्नुभयो, ‘तर कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको छ ।’

गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले स्थानीय उत्पादनको बजारीकरणका लागि नगरपालिका आवश्यक पहल गरिरहेको बताउनुभयो । ‘नगरपालिकाले प्राविधिक र आर्थिक हिसाबले आफैँ कोल्डचेन सञ्चालन गर्ने अवस्था छैन, उहाँले भन्नुभयो, ‘स्थानीय बजारमा खपत गराउनका लागि व्यवस्थित डेरी उद्योग सञ्चालन गर्न सकिन्छ कि भनेर परामर्स गरिरहेका छौँ ।’

उहाँले स्थानीय उत्पादनमा जोड दिन नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याउन लागेको समेत बताउनुभयो । ‘स्थानीय किसानले उत्पादन गरेको दूध खेर जाने र उपभोक्ताले बाहिरबाट आयात गरेर ल्याएको दूध उपभोग गर्नुपर्ने अवस्था राम्रो होइन, उहाँले भन्नुभयो, ‘यसमा व्यवस्थापन मुख्य समस्याको यसको समाधानका लागि नगरपालिकाले योजना बनाएर अघि बढ्छ ।’रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com