Yeti Khabar

२०८१ मंसिर ३०, आईतवार - Sun Dec, 2024 -

एसियाली खेलकुद महाकुम्भ हाङचाओमा भाेलिदेखि

चीनका हाङचाओ सहरमा शनिबारदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदै छ।

समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। 

जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन्। एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चिनफिङले गर्नेछन्।

खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कैयौँ मुलुकका राष्ट्रपति, सरकार प्रमुख र नेताहरू हाङचाओ सहर पुग्नेछन्। 

प्रतियोगितामा एसियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो संख्यामा सहभागिता हुनेछ। भविष्यमा हृदयदेखि हृदयसम्म (हर्ट टु हर्ट एट फ्युचर) मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङचाओ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ। हाङचाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शोसमेतको व्यवस्थापन गरिएको छ। 

एसियाली मुलुकका लागि प्रतियोगिता एक आकर्षक र प्रतिष्ठाको विषय बनेको छ। प्रतियोगिता हाङचाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ। विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोईमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टसमा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

कराँतेमा आठ, गल्फमा ६, कुस्तीमा चार, ह्यान्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा ६, पौडीमा चार, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा चार, भलिबलमा २४, भारत्तोलनमा पाँच तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ।

एसियाडमा ठूलो संख्यामा नेपाली खेलाडी सहभागी हुन लागेको पहिलो घटना हो। नेपालले कराँते र तेक्वान्दाेलगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दैआएको छ।

प्रतियोगितामा मुलुकका तीन सुरक्षा निकायका विभागीय टोलीबाट एक सय ६२ जना खेलाडी सहभागिता रहनेछ। नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगितामा भाग लिन केही खेलाडी प्रतियोगिता स्थल पुगिसकेका छन् भने केही जाने क्रममा छन्। क्रिकेट होस् वा अरू कुनै पनि खेल विधामा पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ। एसियाडमा पदकलक्षित गरी नेपालले डेढ महिनादेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो।

खेलकुद मात्र एउटा यस्तो विधा हो, शक्तिशाली राष्ट्रका अत्याधुनिक सुविधासम्पन्न रंगशालामा आफ्नो देशको झन्डा फहराउने र राष्ट्रिय धुन घन्काउने अवसर प्रदान गर्छ। खेल कूटनीतिमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा हुने भएकाले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार बनेको छ।
 
सरकारले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्म स्वाभिमान, प्रोत्साहन, पुरस्कारको व्यवस्थापन गरेको छ। वृत्ति विकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील छ।

एसियाली खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको बिदाइ कार्यक्रममा प्रधानमन्त्री दाहालले खेलाडीको मनोबल र वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राखिने विश्वास दिलाएका थिए।नयाँ पत्रिका बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com