Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अमेरिकी सैनिक जानी-जानी उत्तर कोरिया पसेको दाबी

उत्तर कोरियाले एक जना अमेरिकी सैनिक जानी-जानी आफ्नो देश पसेको बताएको छ। बुधबार उत्तर कोरियाको कोरियन सेन्ट्रल न्युज एजेन्सीले गत जुलाईमा दक्षिण कोरियाबाट आएका प्राइभेट किङबारे एक रिपोर्ट प्रसारण गर्दै उनले उत्तर कोरिया वा अरू कुनै मुलुकमा शरण खोजिरहेको उल्लेख गरेको छ।

अनुसन्धानको क्रममा किङले अमेरिकी सेनामा हुने दुर्व्यवहार र अमेरिकी समाजमा हुने रंगभेदका कारण आफूले उत्तर कोरिया वा अर्को मुलुकमा शरण लिन चाहेको बताएको दाबी गरिएको छ।

जुलाई १८ मा अमेरिका फर्किने जहाज चढ्न छोडेर किङ उत्तर कोरियातिर  लागेका थिए।उनका विषयमा उत्तर कोरियाले पहिलो पटक सार्वजनिक जानकारी दिएको हो। अमेरिकी अधिकारीहरूले पनि किङ नियतवश नै उत्तर कोरिया पुगेको बताएका छन्।

भएको के थियो?

जानाजान उत्तर कोरिया छिरेका किङ २३ वर्षका हुन्। उनी सन् २०२१ जनवरीमा अमेरिकी सैनिकमा भर्ती भएका थिए।  उनी फर्स्ट ब्रिगेड कम्ब्याट टिममा थिए। उनको ब्रिगेड २०२२ को फेब्रुअरीमा दक्षिण कोरिया जान थालेको हो।

गत अक्टोबरमा स्थानीय कोरियालीसँग उनको झगडा परेको थियो। त्यसक्रममा उनले प्रहरीको कारमा क्षति पुर्‍याएपछि उनीमाथि कारबाही भएको थियो। उनको ब्रिगेडका अरू सैनिक अमेरिका फर्किने बेला उनी कोरियाको जेलमा बस्नु परेको थियो।

जेलबाट छुटेपछि उनी अमेरिका फर्किने योजना थियो। उनलाई अमेरिकाको टेक्ससमा सैनिकसम्बन्धी अनुशासनको कारबाही हुने तयारी थियो।

दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलसम्म उनलाई अमेरिकी सेनाले स्कर्टिङ गरेर ल्याएको थियो। विमानस्थलको सुरक्षा जाँचपासपछि उनलाई सैनिक सुरक्षा दिन सकिएको थिएन। विमानस्थलको सुरक्षा जाँच पास गरेका किङ भने जहाजमा चढेनन्। बरू विमानस्थलबाट बाहिर निस्किएर उत्तर कोरियाको सीमातिर लागे।

सुरक्षा जाँच पास गरिसकेका उनी विमानस्थलबाट कसरी बाहिर निस्किए भन्ने प्रष्ट भइसकेको छैन।

उत्तर कोरियाको सीमासम्म उनी पर्यटकको एउटा समूहसँग घुम्न भनेर गएका थिए। उत्तर र दक्षिण कोरियाको सीमा छुट्याउने ठाउँमा चार किलोमिटर चौडा डिमिलिटराइज्ड जोन छ। त्यहीँ भित्र पान्मुनजोम भन्ने ठाउँ पर्छ। त्यहाँबाट उत्तर कोरियाको जमिन देखिन्छ। पर्यटकहरू उत्तर कोरियालाई नजिकबाट हेर्न त्यो क्षेत्रको भ्रमण गर्छन्।

दिनभरि समूहमा पान्मुनजोम घुमेका किङ साँझतिर अचानक उत्तर कोरियातिर लागे। हामीले दायाँतिरबाट हा.. हा.. गरेको आवाज सुन्यौं। दिनभरि हामीसँगै घुमेका एक युवक दुई भवन पार गरेर उत्तर कोरियातिर पुगे,’ किङको समूहमा रहेका एक पर्यटकले सामाजिक सञ्जालमा लेखेका छन्,‘के भएको हो भनेर हामी सबै एकछिन अचम्ममा पर्‍यौं।’

उनको समूहमा रहेकी अर्की एक जना पर्यटकले सुरूमा उनी उत्तर कोरियातिर जाँदा टिकटक भिडिओ बनाउन गएजस्तो लागेको बताएकी छन्।

‘सुरूमा त मलाई के गरेको होला भन्ने लागेको थियो,’ उनले भनेकी छन्,‘केहीबेर पछि त उनी उत्तरतिर बेस्सरी दौडिए, रोकिँदै रोकिएनन्।’

दक्षिण कोरियामा खटिएका अमेरिकी सैनिक जानकारीबिनै उत्तर कोरिया गएको यो पहिलो पटक भने होइन। यसअघि पनि केही अमेरिकी सैनिकहरू उत्तर कोरिया गएका थिए।

तीमध्ये सबैभन्दा चर्चित घटना सन् १९६५ को अमेरिकी आर्मी सर्जेन्ट चार्ल्स रोबर्ट जेनकिन्सको हो। उनले भियतनाम युद्ध लड्न जानुपर्ने भन्दै अमेरिकी सैनिक त्यागेका थिए। दक्षिण कोरियाबाटै उनी उत्तर कोरिया गएका थिए।

उत्तर कोरियामा हुँदा उनले उत्तर कोरियाली सैनिकलाई अंग्रेजी भाषा पढाउने र अमेरिका विरोधी प्रोपोगान्डामा अभिनय गर्ने काम गरेका थिए। झन्डै ४० वर्षपछि सन् २००४ मा उनलाई उत्तर कोरियाले देशबाट बाहिर जान अनुमति दिएको थियो। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com