Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

असार लाग्यो, सुरू भयो धान रोपाइँ

यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो  छ। यतिबेला भक्तपुरका चारवटै नगरपालिका क्षेत्रका खेतहरूमा धान रोप्ने किसानको लर्को देखिन्छ।

बिहीबारदेखि ठूलो पानी परेर खेतमा पानी भरिएपछि त्यहाँका किसानहरू धान रोपाइँमा जुटेका हुन्। तर, जेठ महिनामा पानी नपर्नाले धानको बीउ ब्याडमै डढ्ने र मर्ने हुँदा यसपालि बीउको अभाव भएको किसानको भनाइ छ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका किसान सानुकाजी कार्कीले घामले धानको बीउ डढेर कम भएपनि रोपाई नरोकिएको बताए। उनले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई  तीव्रता दिइएको बताए।

रासायनिक मलको भने अभाव भएको उनले बताए। ‘पानी परेर खेतका गरा भरिएपछि किसानलाई धान रोपाइको चटारो परेको छ, यतिखेर रासायनिक मल भने आवश्यकताअनुसार पाइएको छैन,’ उनले भने।

चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले खेतका आली भरिएपछि रोपाइँमा किसान व्यस्त भएको बताइन्। उनले धान रोपाइँमा आवश्यक पर्ने मल मात्र नभई जनशक्ति पनि कम भएको बताइन्।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी परेपछि असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण नगरपालिका–९ का किसान सानुभाई गिरीले बताउँछन्।

कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन्। सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार सुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन्।

धान रोपाइँमा आवश्यक पुरुष र महिला जनशक्ति कम भएपछि समस्या आएको गिरीले बताए।

सूर्यविनायक नगरपालिका–८ नँखेलका किसान सम्पूर्ण थापाले खेतमा काम गर्ने ज्यामी नपाउँदा समस्या परेको बताए। ‘खेतमा हाल्ने मल पर्याप्त छैन, काम गर्ने जनशक्ति छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै पर्‍यो,’ उनले भने।

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन्। रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने कृषि प्राविधिक हरिकृष्ण नेपाल बताउँछन्। उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताउँदै सरकारले धान रोप्न तथा हिलो सम्याउने प्रबिधि सहुलियतमा ल्याउनसके किसानलई सहज हुने र समयमै धान रोप्न सहज हुने बताए।

भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेकी धनकुमारी श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो धान रोपिएको बताइन्। रासस 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com