Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ढाेरपाटनका बेपत्ता मेयरविरुद्ध सात सय ६८ वटा उजुरी

बाग्लुङ – केही दिनयता जिल्ला प्रहरी कार्यालय बागुलुङको परिसरमा भिड छ । कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त हुनुहुन्छ । 

पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उहाँहरूको दैनिकी बनेको छ । बाग्लुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध अहिलेसम्म सात सय ६८ वटा उजुरी परेका छन् । 

ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपाली जेठ ५ गतेदेखि सम्पर्कमा छैनन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई गएकाे वैशाख ९ गते गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । अहिलेसम्म उनीहरू बेपत्ता छन् । 

‘नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजी गरिरहेको छ, तर कोही भेटिएका छैनन्’, डीएसपी केसीले भन्नुभयोे, ‘उजुरी गर्नेहरू राति ८ बजेसम्म लाइनमा हुन्छन्, केही दिन भयो हाम्रो कार्यालय भिडले भरिएको छ ।’ 

बचतकर्ताको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप नेपालीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जेठ १६ गते उनीसहित पदाधिकारीले बचतकर्ताको अर्बाैँ रकम अपचलन गरी सङ्गठित ठगी गरेकाले उनीहरूविरुद्व उजुरी लिन पत्राचार गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय बाग्लुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । त्यसयता साेमवार बेलुकासम्म सात सय ६८ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै चार हजारभन्दा बढी सङ्ख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेसम्म ८९ करोड ६६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ । इमेज सहकारीको बाग्लुङ बजार, गलकोट र बुर्तिबाङमा गरी तीन वटा शाखा बाग्लुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । 

बाग्लुङमा मात्र दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखराकाे सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ता पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बाग्लुङ र पोखरा दुवै ठाउँका बचतकर्ताले सङ्घर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com