Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले आज संसदमा बोल्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ सोमबार प्रतिनिधि सभाको बैठकमा उनले हालै गरेको भारत भ्रमणबारे प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाहका लागि लिपुलेप–लिम्पियाधुरालगायतका भूभाग छाड्न सकिने बताएको भन्दै जवाफ मागेको थियो।

आइतबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर जवाफ मागेपछि प्रधानमन्त्री प्रचण्डले आज स्पष्ट पार्ने उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।

‘सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री गम्भीर हुनुहुन्छ, प्रधानमन्त्रीले आज स्पष्ट पार्नुहुन्छ,’ गजुरेलले भने।

सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले पनि अग्रसरता लिएका छन्। प्रमुख प्रतिपक्षी दल एमाले लगायतका दलले सदन अवरुद्ध गरेपछि सदनबाटै प्रधानमन्त्री र सभामुखबीच कुराकानी भएको घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

‘सदनको अवरोध हटाउने विषयमा सभामुखले सबैसँग कुराकानी गर्नुभएको छ, अवरूद्ध हुनेबित्तिकै त्यहीँबाट उहाँले प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको थियो,’ उनले सँग भने, ‘नागरिकताको विषयमा साँझ अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि पनि कुराकानी भयो। प्रधानमन्त्रीले आज सदनमा बोल्छु भन्नुभएको छ।’

सभामुखसँगको टेलिफोन सम्वादमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग पनि कुराकानी गर्ने बताएकाले आजको अवरोध हट्ने सम्भावना रहेको अधिकारीले बताए।

सदन खुलाउने विषयमा एमाले पनि सकारात्मक रहेको स्रोतले जानकारी दियो।

‘नागरिकता प्रमाणीकरणको विषयमा अदालतले नै अल्पकालीन अन्तरिम आदेश दिइहाल्यो। हामी सही रहेछौँ भन्ने अदालतबाटै प्रमाणित भयो। भारत भ्रमणका क्रममा उठेका विषयमा प्रधानमन्त्रीले बोलेपछि सदन नियमित कामकारबाहीमा अघि बढ्ने अवस्था आउँछ।’ एमाले स्रोतले भन्यो।

आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची थियो। 

अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो।

तर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलहरूको अवरोधका कारण संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न पाएन।

एमालेले नागरिकता, रेशम चौधरीको आममाफी र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा लिम्पियाधुरा–लिपुलेक बंगलादेशको बन्दरगाहसम्म पुग्ने पहुँचमार्गका लागि छाड्न सकिने भनेर अभिव्यक्ति दिएको भन्दै त्यसलाई विषय बनाएर उठेर विरोध जनायो। 

त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत मिसिए।

बैठक एक घण्टाका लागि भनेर स्थगित गरिएको थियो। त्यसपछि पनि प्रतिपक्षी दलहरूसँग सहमति कायम हुन नसकेपछि सोमबार बिहान ११ बजेलाई तय गरिएको थियो।

आजको सम्भावित कार्यसूचीमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने छ।

त्यसका अतिरिक्त दोस्रो संविधान सभा सदस्य, राप्रपाका सांसद श्यामसुन्दर टिवडेवाल र पूर्वराज्यमन्त्री तथा कांग्रेस नेतृ मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउनु कार्यसूची छ। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com