Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अयाेग्य लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय तत्काल खारेज गर्न एमालेकाे माग

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादीका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले देशको आर्थिक अवस्था भयावह भएको बेला सरकारले अयाेग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय तत्काल खारेज गर्न माग गर्नुभएको हो । उहाँले राज्यकोष दोहन गरी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी पैसा दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो । सरकारले त्याे निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो ।

गिरीले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गराउन सरकार नलागेको आरोपसमेत लगाउनुभयो । उहाँले भन्नुभयाे, ‘देशको अर्थतन्त्र सङ्कटग्रस्त छ । भयावह अवस्थामा छ । यस्ताे अवस्थामा माओवादीका अयोग्य लडाकुको नाममा राज्यकाेषबाट झन्डै दुई/दुई लाख रुपैयाँ रकम बाँडिदैछ भन्ने सुनिएको छ । एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि चालु आर्थिक वर्षमा छुट्टयाइयो । तर आज सत्य निरूपण तथा मेलमिलापको काम थाँती राखिएको छ । त्यतातर्फ सरकारको चिन्ता छैन । त्यसबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई लडाकुको नाममा पैसा बाँडिन्छ । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसोच्ने । त्यहाँभन्दा अगाडि बढ्न नचाहने । अनि देशको ढुकुटीबाट दिनहुँ पैसा निकालेर लिएर जाने, गरिबले नुन किनेर खान सक्ने अवस्था छैन । तेल, चिनी किनेर खान सक्ने अवस्था छैन । तरकारी किनेर खान सक्ने अवस्था छैन । तर राज्यकाेषकाे दाेहन हुँदैछ । त्यस्तो कुरा हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन । र यो निर्णय तत्काल खारेज होस् भन्ने कुरा हामीले माग गरिरहेका छौँ ।’

यस्तै प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्तापक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुडा प्रहार गर्ने कोसिस गरिएको भन्दै निन्दा र भत्सर्ना गर्नुभयो । उहाँले घटनामा संलग्नहरूलाई सत्तापक्षले उन्मुक्ति दिने प्रयास गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com