Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

फ्रान्स : पेन्सन योजनाविरुद्ध लाखौँ मानिस सडकमा, बोर्डो टाउन हलमा आगलागी, ८० जना पक्राउ

पेन्सन पाउने उमेर बढाउने सरकारको योजनालाई लिएर फ्रान्समा लाखौँ मानिस सडकमा उत्रिएका छन् । प्रदर्शन चर्किएका बेला बोर्डो टाउन हलमा आगो लागेको छ । हिजो बेलुका दक्षिण पश्चिमी सहर बोर्डोको टाउन हलको मूल ढोकामा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दमकलको सहायतामा आगो तत्काल निभाइएको थियो । कसरी आगलागी भयो खुलेको छैन । फ्रान्सका विभिन्न सहरमा गरी १० लाख मानिस सडकमा आएका तथा तीमध्ये एक लाख १९ हजार मानिस राजधानी पेरिसमा रहेको आन्तरिक मन्त्रालयको तथ्याङ्क छ।

पश्चिमी सहरहरू नान्टेस, रेनेस र लोरिएन्टमा पनि झडपहरू भएका थिए । प्रदर्शनको क्रममा देशभरबाट ८० जना पक्राउ परेका छन् । सेवा निवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्याउने कानुनविरुद्ध प्रदर्शन सुरु भएको हो । विरोध प्रदर्शनका कारण रेल सेवा, तेल प्रशोधन केन्द्रहरू पनि असर परेको बीबीसीले जनाएको छ ।

पेरिसमा फोहर सङ्कलन गर्ने कामदारहरूले मार्च ६ मा पेन्सनबारे नयाँ योजनाविरुद्ध हड्ताल सुरु गरेका थिए र यो आउँदो सोमवारसम्म जारी रहने छ । गएको जनवरीयता त्यहाँ नौ दिन विरोध प्रदर्शन भइसकेको छ र फ्रान्सेली सङ्घहरूले अर्को मङ्गलवार थप हड्तालसहित दशौँ दिनको कार्यक्रम आह्वान गरेका छन् ।

फ्रान्समा अवकाश पाउने र पेन्सन पाउन सक्ने उमेर बढाउने कानुन बनाउने सरकारको योजनाका कारण समस्या निम्तिएको हो । तर निर्णयको पक्षमा मतदान गर्न संसदमा पर्याप्त समर्थन छैन । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोले यसलाई पारित गर्नु महत्त्वपूर्ण हुने बताउनुभएको छ। त्यस्तै प्रधानमन्त्री एलिजावेथ बोर्नले भने भविष्यमा आर्थिक समस्याबाट जोगिन यस्ता परिवर्तनहरू आवश्यक भएको बताउनुभएको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com