Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

‘अफ्रिकन स्वाइन फिवर’को प्रकोप, चितवनमा २ हजार ८७३ बंगुर मरे

भरतपुर– ‘अफ्रिकन स्वाइन फिवर’का कारण चितवन जिल्लामा १२ खोरका २ हजार ८७३ बंगुर मरेका छन्। भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा गरी उक्त संख्यामा बंगुर मरेका हुन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा ३, रत्ननगरमा ४, इच्छाकामनामा ३ र खैरहनीमा २ फार्ममा रहेका बंगुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली भएको हो।

यो रोगका कारण जिल्लामा २ हजार ८७३ बंगुर मरेका छन्। तीमध्ये वयस्क १ हजार ९१६ वटा र ९५७ पाठापाठी रहेको उनले जानकारी दिए।
यो रोगका कारण हालसम्म ६ करोड २२ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको कार्यालयले जनाएको छ। यो रोग गत साउन महिनाबाट जिल्लामा देखिएको हो। अफ्रिकन स्वाइन फिवर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो। यो रोग नेपालमा पहिलोपटक २०७९ जेठ २ गते पुष्टि भएको थियो।

रोगको संक्रमण देखिएका सुँगुर बंगुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बंगुरको र्‍याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बंगुरको ओसारपसार वा किनबेच गर्दा, संक्रमित खोरमा काम गर्ने कामदार र संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदि प्रयोग गर्दा सर्नसक्ने सूचना अधिकारी न्यौपानेले जानकारी दिए।

यो रोग लागेका बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग सङ्क्रमित सुँगुर बंगुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, बच्चा तुहिनेजस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ।

यस रोगबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बंगुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, बंगुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ। बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधै फार्ममा रहेका बंगुरसँग नमिसाइ २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने गर्नुपर्दछ। बंगुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फार्मालिन, ब्लिचिङ पाउडर आदिले निःसंक्रमण गर्ने, रोग लागेका बंगुरलाई बथानबाट छुट्याएर अलग राख्नेजस्ता कार्य गर्दा क्षति कम हुने सूचना अधिकारी न्यौपानेको भनाइ छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com