Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

२० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक आलु खेती

बेनी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन्। लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन्।

एक महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकोमा खनजोत सकेर आलु लगाइएको समूहका अध्यक्ष गौसरा विकले बताइन्। उनका अनुसार समूहमा आबद्ध १८ जनाको प्रयासबाट व्यावसायिक रुपमा सामूहिक आलु खेती गरिएको छ। यस वर्ष समूहले एक सय रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ। समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत थप आलु खेती लगाउने तयारी गरेको जनाएको छ।

मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर २० मुरी आलुको बीउ रोपिएको हो। गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रुपमा आलु खेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिए।

‘बाँझो जग्गामा आलु खेती गरिएपछि वर्षौंदेखि बाँझो रहेको जग्गाको स्वरुप नै फेरिएको छ, यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलु खेतीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नेछ,’ थापाले भने।

गाउँपालिकाले चालु आर्थिक वर्षमा आलु पकेट कार्यक्रमको लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकामा आवेदन पेश भएकामध्ये छनोट भएको वडा नम्बर २ को सो समूह र वडा नम्बर ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपंक्षी कृषक समूहलाई ६/६ लाखको दरले बजेट परिचालन गरिने कृषि शाखाले जनाएको छ। सो रकमबाट बाँझो जग्गामा खेती विस्तारका साथै मिनिटेलर, हलोलगायतका कृषि औजार सहयोग गरिने जनाइएको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com