Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन् ।

घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना–टपरी बनाउने तालिम दिएको थियो । “तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना–टपरी बनाउने सीप सिकेँ, अहिले यही पेसाबाट जीवनयापन चलाइरहेकी छु”, थापाले भन् ि।
सुरुमा दुना–टपरी बेचेर पनि के जीविकोपार्जन होला भन्ने सोचेको उनी सुनाउछिन् । “जब यो पेसा अँगाल्दै गएँ, अहिले मासिक रु २० हजार आम्दानी गर्ने भएकी छु”, उनले भनिन् ।

लालीगुराँस दुना–टपरी उद्योग नै दर्ता गरेर उनले व्यवसाय सञ्चालन गरेकी छिन् । सुरुआती चरणमा छ जना महिला मिलेर खोलेको उद्योग भए पनि अहिले उनी एक्लैले चलाएकी छिन् । “एक जना सदस्यको मृत्यु भयो, एक जनाको मेसिनले हात काट्यो, केही साथीले छाडे”, उनले भनिन्, “अहिले एक्लै उद्योग चलाएकी छु ।”

सालको पातबाट बनाइने दुना–टपरीको खपत पनि राम्रै छ । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, चार नम्बर, बहादुरगञ्जसम्म उनले बनाएर दुना–टपरी जाने गरेका छन् । हातैबाट दुना–टपरी बनाइने गरिन्छ । त्यसलाई राम्रो बनाउनका लागि मेसिनमा राख्ने गरिन्छ । रु एक लाख ५० हजारको लगानीमा उनले मेसिनसमेत खरिद गरेकी छिन्।

पूर्व वडासदस्यसमेत रहेर काम गरेकी थापा व्यवसायमा जोडिएकै कारण जनप्रतिनिधि हुने अवसर पाएको बताउछिन् । “गाउँलेबाट सालको पात खरिद गर्न थाले, यसले सम्पर्क विस्तार भयो, विसं २०७४ को स्थानीय तहको चुनाव उठेर जिते”, उनले विगत सुनाउँदै भनिन्, “दुना–टपरी उद्योगले मेरो व्यक्तिगत जीवनमा बदलाव ल्याएको छ ।”

पटना क्षेत्रमा जङ्गल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जङ्गलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा उनी आफैँ दङ्ग छिन् । विशेषगरी उनले बनाएका दुना–टपरी घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्राहकले लैजाने गरेका छन् । चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा पनि हरियो दुना–टपरीको माग हुने गरेको छ ।

थापाले स्थानीयवासीले ल्याएको सालको पात खरिद गर्दै आएकी छिन्। एक सय पातको रु ४० दिने गरेको उनले बताइन् । थापाले बेच्ने प्रतिदुना–टपरीको मूल्य आकारअनुसार सात रुपैयाँदेखि डेढ रुपैयाँसम्मको पर्छ । आफूले दुना–टपरी उद्योग सञ्चालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग नमिलेको उनले बताइन् । आफू जनप्रतिनिधि हुँदा पटक–पटक यो कुरा उठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका साम्रगी पाइने गरेका छन् । पानीपुरी पसलदेखि मुख्य बजारका चोकचोकका रहेका ठेलागाडाले प्लाष्टिकको प्रयोग गर्ने गरेका छन् । त्यसले गर्दा वातावरण नै प्रद्रषित हुने गरेको छ । सालका पातको प्रयोगले मानव स्वास्थ्यदेखि वातावरण सरसफाइमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।

स्थानीय पालिकाले प्लाष्टिकका सामग्री निषेध गर्नुपर्नेमा उनको जोड छ । प्लाष्टिकमुक्त पालिका बनाउनका लागि पनि यस्ता उद्यमीलाई प्रोत्साहन दिनुपर्छ । साथै उहाँले बाणगङ्गा नगरभित्र रहेका दुना–टपरीलाई एकीकृत गरी बिक्रीको प्रबन्ध मिलाइदिन आग्रह गरिन् ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com