Yeti Khabar

२०८१ असार ३१, सोमबार - Mon Jul, 2024 -

ड्रोन हमला गर्दै युक्रेनलाई सिध्याउने रूसको योजना रहेको जेलेन्स्कीको दाबी

आफूहरूलाई निरूत्साहित पार्न लामो समयसम्म रूसले ड्रोन हमलाहरू गरिरहने योजना बनाएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेनेस्कीले दाबी गरेका छन्।

इरानमा निर्मित शाहिद नामको ड्रोनबाट मस्कोले युक्रेनमाथि हमला गर्न लागेको विषयमा आफूले गुप्तचर रिपोर्टहरू पाएको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेको बिबीसीले जनाएको छ।

किएभमा रात्रिकालीन सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लामो समयसम्म ड्रोन हमलाहरू गर्दै युक्रेनलाई सिध्याउने रूसी योजना रहेको उल्लेख गरेका छन्।

युक्रेनमाथि रूसी ड्रोन हमलाहरू पछिल्ला दिनमा बढ्दो छ।
मस्कोले पछिल्लो समय युक्रेनका विभिन्न शहर तथा ऊर्जा केन्द्रहरूमाथि हमलाहरू गर्दै आएको छ।

जेलेन्स्कीका अनुसार युक्रेनी हवाई प्रतिरक्षा बलले सन् २०२३ का शुरूवाती दिनहरूमा इरानमा निर्मित ८० वटासम्म ड्रोनलाई खसालिसकेको छ।

‘हामीले यो कुराको सुनिश्चित गर्नैपर्छ कि आतङ्कवादीहरूको अहिलेको लक्ष्यलाई पनि अरू लक्ष्यलाई जस्तै विफल पार्न आवश्यक सबै कदम चाल्नेछौँ,’ उनले भने, ‘अहिलेको समय भनेको हाम्रो आकाशको सुरक्षामा रहेका सबै जना अझ विशेष रूपमा त्यसमा केन्द्रित रहनुपर्ने भन्ने हो।’

हालै डोन्बास क्षेत्रमा युक्रेनले थुप्रै रूसी फौजको ज्यान जानेगरी गरेको एउटा आक्रमणपछि युक्रेनी राष्ट्रपतिको पछिल्लो भनाइ सार्वजनिक भएको हो।

अधिनस्थ डोनेत्स्क क्षेत्रमा आफूहरूले गरेको एउटा हमलामा ४०० रुसी फौज मारिएको युक्रेनले दाबी गरेको छ।
युद्ध मैदानमा आफ्नोतर्फ क्षति भएको कुरा विरलै स्वीकार गर्ने गरेको रूसले पछिल्लो पटक आफ्ना ६३ जना फौज मारिएको बताएको छ।
यद्यपि घटना भएको क्षेत्रमा जान नसकिने भएकोले दुवै पक्षको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बिबिसीले जनाएको छ।

एक दिनअघि मात्र नेटोका महासचिव एन्स स्टोलटनबेर्गले रुस पछाडि हट्ने सङ्केत नदेखिएकोले पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने बताएका थिए।
पश्चिमा देशहरूले रूसलाई सिध्याउन युक्रेनको प्रयोग गरिरहेको मस्कोले आरोप लगाउँदै आएको छ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com