Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

शुक्रराज ट्रपिकल अस्पतालमा कुकुरले टोकेका बिरामी बढ्दै

काठमाण्डाै – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढिरहेको छ । कुकुरले टोकेपछि खोप लगाउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ । विगत दुई वर्षको तथ्याङ्कमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि भएको हो ।

अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार सात सय ४८ रहेका थिए भने आव २०७९/८० मा यो सङ्ख्या बढेर ५० हजार चार सय ९४ पुगेको छ । यस्तै, आव २०७८/७९ मा नयाँ र पुरानो गरी एक लाख, एक हजार, एक सय ९६ र आव २०७९/८० मा नयाँ र पुरानो गरी एक लाख २५ हजार ९० बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले जाडोमा भन्दा गर्मी महिनामा बढीलाई टोक्ने भएकाले गर्मीमा धेरै बिरामी खोप लगाउन आउने गरेका छन् । आव २०७९/८० को जेठमा पाँच हजार ५८ जना र असारमा पाँच हजार दुई ८० जना खोप लगाउन आएका छन् । यस्तै पुसमा तीन हजार आठ सय ५१ र माघमा चार हजार एक सय ३२ जनाले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले टोकेपछि दुई किसिमको खोप दिइने गरिन्छ । एउटा एन्टिरेबिज र अर्को इम्युनोग्लोबुलिन भ्याक्सिन दिने गरिन्छ । यदि भुस्याहा कुकुरले टोकेको खण्डमा इम्युन्नोग्लोविन खोप र घरपालुवा कुकुर जसले नियमित खोप लगाएका छन् । ती कुकुरले टोके भने एन्टिरेबिज भ्याक्सिन खोप दिइने गरिन्छ । घरपालुवा र भुस्याहा कुकुरले बढी मानिसलाई टोक्ने गरेको छ । यस्तै, गएकाे असारदेखि यतामात्र १९ हजार चार सय ४७ जना नयाँ बिरामीले रेबिजविरुद्ध खोप लगाइसकेका अस्पतालका बहिरङ्ग विभागका इन्चार्ज शङ्कर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा चार हजार आठ सय ८५, भदौमा चार हजार सात सय २८, असोजमा चार हजार सात सय ३१ र कात्तिकमा पाँच हजार ९९ जनाले बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् । उहाँका अनुसार अहिले दैनिक एक सय ३० जना रेबिजविरुद्धको खोप लगाउन अस्पताल आउने गरेका छन् ।

मासु र छालामा लगाइने याे खोप सरकारले निःशुल्क वितरण गर्ने गरेको छ । मासुमा लगाउने खोप चारपटक र छालामा लगाउने खोप तीनपटक दिइने गरिन्छ । बच्चा र वृद्धालाई मासुमा खोप लगाइने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनले छालामा लगाइने खोपलाई बढी प्रभावकारी मानेको छ ।

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप नलगाएको खण्डमा रेबिज रोग लाग्ने गर्दछ । अस्पतालका प्रमुख कल्सन्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कुकुरले टोकेपछि जतिसक्दो चाँडै खोप लगाउनुपर्ने बताउनुहुन्छ । उहाँले खोप नलगाएको खण्डमा २० देखि ९० दिनसम्म रेबिज रोगको लक्षण देखिने र लक्षण देखिएको सात दिनभित्रमा बिरामीको ज्यान जाने गरेकाे छ । 

चालिसेका अनुसार रेबिज रोग लागेका बिरामीको मृत्युदर शतप्रतिशत रहेको छ । अस्पतालमा महिनामा दुई–तीन जना बिरामी रेबिज लागेर आउने गरेको उहाँ बताउनुहुन्छ । रेबिज रोग लागेका मान्छे शुरुमा पानी र  हावासँग डराउने र त्यसपछि अचेत अवस्था भइ ज्यान जाने गरेको उहाँले बताउनुभयो ।

रेबिजबाट सङ्क्रमित भएको कुकुर, जङ्गली जनावरजस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा तिनीहरूको र्यालबाट रेबिज रोग सर्दछ । रेबिज भाइरसले मस्तिष्कमा असर पुर्‍याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ ।

कुकुरले टोकेमा टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने गर्नुपर्दछ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com