Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताएका छन्।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि भएका सबै सकारात्मक कामलाई आत्मसात् र त्यसलाई निरन्तरता दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उनले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसुन र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गरेका थिए।

‘हामीले राजनीतिक परिवर्तन गर्‍यौं, जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ। राजनीतिक अधिकारलाई माध्यम बनाएर जनताको जीवनमा परिवर्तन ल्याउनुपर्छ। जनताले आफ्नो जीवन परिवर्तन भएको अनुभूति गराउन सक्नुपर्छ’, उनले भने।

जनताको जीवनमा परिवर्तन हुने गरी स्वास्थ्य शिक्षा, रोजगारी खाद्यान्न, आवास, खानेपानी सडक, बिजुली उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको सामाजिक आर्थिक संरचनाको गुणात्मक फड्को मन्त्रालयको निर्णायक भूमिका रहने भएकाले त्यस दिशामा स्पष्ट साथ अघि बढ्ने बताए।

उनले सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिए। मन्त्रालयका काम गर्न भनसुन गर्ने तथा पैसा खुवाउनुपर्ने अवस्थाको अन्त्य गरिने उनले बताए।

‘समयको महत्वलाई बुझेर मन्त्रालयको कामलाई गुणात्मक दिनुपर्छ, नीतिगत सुधार गरेर कामकारबाहीलाई छिटो बनाउनुपर्छ। कर्मचारीले कुनै चाकडी गर्नु पर्दैन, राम्रो काम गर्नेलाई पुरस्कृत गरिन्छ,’ उनले भने।

राष्ट्रिय स्वाधीनताको रक्षा र सुशासन प्रवर्द्धन गरी राष्ट्रिय समृद्धिको यात्रामा अगाडि बढ्ने जनाउँदै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासनलाई प्रभावकारी बनाइने विश्वास दिलाए।

भ्रष्टाचार र पैसाका लागि हुने अवाञ्छित गतिविधि गर्ने दिन सकिएको उनको भनाइ छ। ‘भ्रष्टाचार गर्नेहरु वा पैसालाई केन्द्रमा राख्नेले मन्त्रालयलाई कब्जामा लिन्छु भन्ने दिन गए’, उनले भने।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com