Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

काठमाण्डौ भ्यु टावर : ७० प्रतिशत काम सकियो

काठमाण्डौ – समय सीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाण्डौ भ्यु टावर निर्माणको काम अहिलेसम्म ७० प्रतिशतमात्र सकिएको छ ।

स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाण्डौ र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ ।

निर्माणको कामअन्तर्गत अहिले नवौँ तलाको काम भइरहेको छ । सम्झौताअनुसार पाँच वर्षमा निर्माण सम्पन्न गरिसक्ने भने पनि निर्माण नभए के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नभएकाले अर्को निर्माण कम्पनीलाई जिम्मा दिने अवस्था नरहेको कामपाको भनाइ छ । सम्झौताअनुसार २०७८ साल साउनमा निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । निर्माणका लागि तोकिएको समय सीमा सकिएको १६ महिना भइसकेको छ ।

कामपाले निर्माण सुरु गरेको समयदेखि ३० वर्षका लागि दिइएको हो, निर्माणको अवधि पाँच वर्ष राखेको भए पनि पाँच वर्षमा निर्माण सम्पन्न नभएको अवस्थामा के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख नगरेकाले कामपाले कारबाही गर्ने अवस्था नरहेको जनाएको छ ।

अर्को कम्पनीलाई दिइहाल्ने अवस्था छैन, कम्पनीले कामपालाई सुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौता अनुरूपको कर दिइरहेको छ । सम्झौताअनुसार निर्माण कम्पनीले वार्षिक एक करोड रुपैयाँ रकम कामपालाई तिर्नुपर्ने हुन्छ । त्यो रकम आजसम्म तिरिरहेको कामपाको भनाइ छ ।

कामपाको निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्नँ भन्ने अवस्था छैन, जेनतेन काम गरिरहेको छ । सम्झौता भएअनुसार काम सकिसक्नुपर्ने भए पनि नसक्दा के गर्ने उल्लेख नभएको र समग्रमा ३० वर्षका लागि दिएकाले निर्माण कम्पनीलाई कारबाही गर्न मिल्ले अवस्था नरहेको हो ।

स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । यो भ्यु टावर नेपाली कला, संस्कृति झल्किने किसिमको हुनेछ । कुल क्षेत्रफलको ४० प्रतिशत भू–भागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना अनुरूप निर्माणको काम अघि बढाइएको हो ।

त्यसैगरी टावरमा दुई तले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय वटा गाडी अटाउनेछन् । भुइँ तलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुने बताइएको छ ।

टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ ।

सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण सम्पन्न हुने टावर सुरुमा २९ तले बन्ने सम्झौता भएको थियो । तर २०७२ सालको भूकम्पपछि टावर निर्माणले १२ तलाभन्दा बढीको स्वीकृत पाएन । त्यहीअनुसार १२ तले भ्यु टावरको त्यही वर्षको कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गर्नुभएको थिए ।

बसपार्क सञ्चालन गर्न समस्या

अहिले भ्यु टावर निर्माण भइरहेको ठाउँबाट लामो तथा छोटो दुरीका गाडी आवतजावत हुने गरेका थिए । साविक पुरानो बसपार्क काठमाण्डौ भ्यु टावर निर्माण भए पनि निर्माणको काम समयमा नै सम्पन्न हुन नसकेपछि बसपार्क व्यवस्थापनमा फेरि समस्या भएको छ ।

निर्धारित समयमा टावर नबन्दा बसपार्क सञ्चालनमा समस्या आएको भन्दै कामपाले यस विषयमा छलफल सुरु भएको जनाएको छ । २०७२ साउनदेखि बसपार्कलाई खुलामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यु टावर निर्माणको काम सम्पन्न गर्ने र साविककै बसपार्क रहेको ठाउँबाट थप व्यवस्थित रूपमा गाडीलाई आवतजावत गराइने भने पनि अहिलेसम्म पनि टावर निर्मााणको काम सम्पन्न नहुँदा समस्या भएको एकाइका प्रमुख न्यौपानेको भनाइ छ ।

टावर निर्माणको कामअन्तर्गत सुरुको छ महिनामै अन्डरग्राउन्ड निर्माण सकेर बसपार्कलाई पुरानै ठाउँमा सार्ने भनिए पनि अझै कहिले बसपार्क सर्ने हो टुङ्गो लागेको छैन ।

आउँदा दिनमा काठमाण्डौ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरू निर्माणाधीन भ्यु टावरमा निर्माण हुने बस बिसौनीबाट आवतजावत गर्नेछन् ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com