Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सी-बाइडेन भेटवार्ता, भने- प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस्

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। द्विपक्षीय सम्बन्ध सुधारको प्रयासस्वरूप उनीहरूको भेटवार्ता भएको न्युयोर्क टाइम्सले जनाएको छ।

रुस युक्रेन द्वन्द्वमा फरक धारणा राख्ने र विश्व राजनीतिमा एकअर्काका प्रतिस्पर्धी मुलुकका नेतृत्वबीच जी-२० सम्मेलनअघि इन्डोनेसियामा उनीहरूको भेट भएको हो।

सेमिकण्डकटरमा लगाएको प्रतिबन्ध तथा ताइवानमा अमेरिकी नीतिका कारण दुई मुलुकबीचको सम्बन्ध थप चिसिएको छ।
भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन्।
चीनसँग सम्बन्ध सुधारका लागि आफू तयार रहेको बाइडेनको भनाइ छ।

‘विश्वका समस्या समाधानका लागि चीन र अमेरिकाबीच आपसी सहकार्यको आवश्यकता छ’, बाइडेनले भनेका छन्, ‘म चाहन्छु हाम्रा मतभेदको व्यवस्थापन होस् र हामीबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस्।’

बाइडेनले समकक्षी सीसँग इमान्दार संवादका लागि आफू तयार रहेको भन्दै अवसरका लागि धन्यवाद पनि दिएका छन्।
‘हामीबीच नियमित आपसी संवाद जरूरी छ। म यो अवसरका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्।
यस्तै, चीनका राष्ट्रपति सीले अमेरिकी समकक्षी बाइडेनलाई दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू पनि रहेको बताएका छन्।

दुई मुलुकबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने धारणा सीले राखेका छन्।
‘अमेरिका र चीनबीचको स्थिर सम्बन्धको लाभ दुई मुलुकलाई मात्रै नभएर विश्वलाई नै पुग्नेछ। म दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि सहकार्य गर्न तयार छु,’ सीले भनेका छन्।

सन् २०११ मा सी र बाइडेन दुबैले उपराष्ट्रपतिको हैसियतमा चीनको छेन्दुमा भेट गरेका थिए।
त्यसयता उनीहरूबीच टेलिफोन तथा भिडिओ कन्फ्रेन्समार्फत् संवाद भएका थिए।

बाइडेन राष्ट्रपति भएपछि पाँचपटक सीसँग भर्चुअल संवाद गरेका थिए। बाइडेन राष्ट्रपति भएपछि सी र उनीबीच पहिलोपटक भौतिक रूपमा संवाद भएको हो। भर्चुअल संवादमा सीले ताइवानमा अनावश्यक हस्तक्षेप नगर्न बाइडेनलाई चेतावनी दिँदै आएका थिए।

‘आपसी सहकार्य गरे दुबै मुलुकलाई हित छ। अनावश्यक हस्तक्षेपमार्फत् द्वन्द्व निम्त्याउन खोजे दुबैका लागि घातक छ,’ सीले गत वर्ष फेब्रुअरी १० मा बाइडेनलाई भनेका थिए।

अमेरिकाले गत अगस्टमा चीनमा सेमिकन्डकटर निर्यातमा प्रतिबन्ध लगाएपछि दुई मुलुकबीचको सम्बन्ध थप तिक्ततामा परिणत भएको छ।
दुबै मुलुकका राष्ट्रपतिले आपसी सहकार्यका लागि तयार भएको भन्दै निकैबेर हात मिलाउँदै राम्रो हाउभाउ प्रस्तुत गरेका छन्। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com