Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

देउवा, ओली र प्रचण्ड देश दौडाहामा, आज के छ कार्यक्रम ?

२२ कात्तिक, काठमाडौं । आम चुनाव नजिकिएसँगै ठूला दलका शीर्ष नेताले चुनावलक्षित कार्यक्रमका लागि देश दौडाहा तीब्र पारेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न चुनाव क्षेत्रमा प्रचार प्रसारका लागि पुगेका छन् ।

उनीहरुले निर्वाचन आयोगबाट प्रमुख प्रचारकको हैसियतमा चुनावी प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न पाउने अनुमति पनि लिएका छन् ।
निर्वाचन आयोगले १७ कात्तिकदेखि चुनाव प्रचारप्रसारको अनुमति दिए लगत्तै प्रमुख तीन पार्टीका नेता सक्रिय भएका हुन् । मंगलबार पनि उनीहरु चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने भएका छन् ।

देउवा कैलाली–५ मा

आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा दुई दिन बिताएका देउवा त्यसपछि कैलालीको धनगढी झरेर त्यहाँको आमसभालाई सम्बोधन गरेका थिए
देउवाले आफ्नो निर्वाचन क्षेत्रका परशुराम र अजयमेरुमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।

मंगलबार भने देउवाले कैलाली–५ मा चुनाव प्रचारमा सक्रिय छन् । देउवाको सचिवालयका अनुसार उनी आज त्यस क्षेत्रमा पार्टीका आन्तरिक भेटघाटमा व्यस्त हुनेछन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका छविराज पन्त उम्मेवार रहेका छन् ।
देउवा भोलि त्यहाँबाट दार्चुला र बैतडीका आमसभामा सहभागी हुन जाने उनको सचिवालयले जनाएको छ ।

ओली झापा जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ कात्तिकमा चुनावी सभा दार्चुलाबाट सुरु गरेका थिए । त्यसै दिन बैतडी र कञ्चनपुरको आमसभालाई पनि सम्बोधन गरेका ओलीले बाग्लुङ र पोखराको सभालाई समेत सम्बोधन गरिसकेका छन् ।

मंगलबार आफ्नो निवास बालकोटमै आन्तरिक भेटघाटमा ब्यस्त रहेका ओली साँझपख झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । ओलीले चुनावभर करिब ४० जिल्लाका सभालाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

प्रचण्ड कर्णालीमा

१७ कात्तिकमा चुनाव प्रचार सुरु भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा पुगेर आफ्नो चुनाव क्षेत्रको आमसभामा सहभागी भएका थिए । दुई दिन गोरखामै बसेर उनले करिब दर्जन साना, ठूला चुनावी सभालाई सम्बोधन गरेका थिए ।

मंगलबार भने प्रचण्ड कर्णाली पुगेका छन् । पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र बाहिर पुगेका प्रचण्डले मंगलबार कर्णालीका विभिन्न पाँच चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

उनले जुम्लाको शेराखेत र सिंजामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने छन् । त्यस्तै हुम्लाको सर्केगाड, कालीकोटको मान्म र रास्कोटमा आयोजना हुने चुनावी सभालाई पनि प्रचण्डले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com