Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे : ओली

३० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।
माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए । ‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाउँ, बलियो वामपन्थी आन्दोलन बनाउँ, समाजवादतर्फ अघि बढौं भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । मैले अँगालो हालेको थिएँ, हात मिलाएको मात्र होइन’ ओलीले भनेका छन्, ‘प्रचण्ड हात लुकाईलुकाई हिंड्थे, म अलिकति सचेत थिएँ । नभन्दै मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे ।’

ओलीले अगाडि भने, ‘म एकता, एकीकरण भन्ने, प्रचण्ड मलाई साधारण सदस्यबाट निकाल्ने । आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई भष्म पार्न खोजेको ओलीको आरोप छ ।

२०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएको थियो । तर तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भंग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भयो । ओलीले आफ्नो समूहको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरे भने प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीलाई पार्टीबाट निष्कासन गरेका थिए ।

यद्यपि दुवैको कारबाहीलाई निर्वाचन आयोगले वैधता दिएन । बरु २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नामसम्बन्धी विवादमा फैसला गर्दा नेकपाको एकता नै खारेज गरिदियो । यससँगै एमाले र माओवादी केन्द्र व्यूँतियो ।

एमाले अध्यक्ष ओलीले भने माओवादी केन्द्र, एमालेमा समाहित भएको दाबी गर्दै आएका छन् । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेताहरु अहिले पनि एमालेमा रहेको भन्दै उनले प्रचण्डले आफ्नो समूह मात्र लगेको र त्यसलाई नै माओवादी केन्द्र भन्ने गरेको बताए ।अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com