Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्रदेश १ साक्षर घोषणा

मोरङ – प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज बिहीवार आयोजित कार्यक्रममा प्रदेश १ लाई साक्षर घोषणा गर्नुभएको हो । उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भइ भूमिका निर्वाह गर्नुपर्नमा जोड दिनुभयो ।

प्रदेशका सामाजिक विकासमन्त्री राजन राईले देशको समृद्धिका लागि व्यावसायिक, गुणस्तरीय र व्यावहारिक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले राष्ट्रियता, मातृभूमि र मातृभाषाप्रति समर्पित रहन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले देशका लागि अबको शिक्षा जागिरेमात्र नभइ व्यावहारिक हुनुपर्नेमा जोड दिनुभयो । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले प्रदेशलाई साक्षर घोषणा गर्न सबैको सहयोग प्राप्त भएको बताउँदै मातृभाषाको विकासका लागि गर्ने धारणा व्यक्त गर्नुभयोे ।

सामाजिक विकास समितिका सभापति सरिता थापा खड्का, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंह, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, जिल्ला समन्वय समिति पाँचथरका रामराज आङदम्बे लगायतले शिक्षा देशको समृद्धिको महत्त्वपूर्ण मेरुदण्ड रहेको र देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा सर्वसुलभ गराउनुपर्नेमा सुझाव दिनुभयो ।

युनेस्कोले तोकेको १२ वटा मापदण्डलाई आधार बनाइ प्रदेशलाई साक्षर घोषणा गरिएको हो । प्रदेशका १४ जिल्लामा रहेका एक सय ३७ पालिकामा १५ देखि ६० वर्ष उमेर समूहमा ९६ दशमलव ७४ प्रतिशत साक्षर छन् ।

यसअघि साक्षर घोषणको अवसरमा स्थानीय आदर्श माध्यमिक विद्यालयबाट निस्केको प्रभातफेरीले नगर परिक्रममा गरेको थियो । प्रभातफेरीमा सामाजिक विकासमन्त्री राई, राज्यमन्त्री तुम्बाहाम्फे, प्रदेशका प्रमुख सचिव सिंह, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायत निजामती कर्मचारी, प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com