Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा बिदा लम्ब्याइँदै

कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् । विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय तहले बिदा थप्दै जान थालेका हुन् ।

भीमदत्त नगरपालिकाले असार ३ गतेसम्मका लागि विद्यालयमा बिदा थप गरेको छ । नगरपालिकाका शाखा अधिकृत हरिदत्त जोशीका अनुसार यसअघि अत्यधिक गर्मी बढेसँगै जेठ २४ देखि २७ गतेसम्म विद्यालयमा बिदा दिइएको थियो । गर्मी झनै बढ्न थालेपछि लामो बिदाबाट मिलान गर्ने गरी बिदाको अवधि थप गरिएको उनले बताए । नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई वैकल्पिक प्रणालीबाट सिकाइ गर्ने व्यवस्था मिलाउन विद्यालयमा परिपत्रसमेत गरिएको छ । “गर्मी अत्यधिक बढिरहेकाले मौसम प्रतिकूल रहेका कारण विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थालाई मध्यनजर गर्दै बिदा थप गरेका छौँ,” उनले भने ।

गर्मी बढेकै कारण शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, बेलौरी, दोधारा चाँदनी नगरपालिकासँगै बेलडाँडी र लालझाडी गाउँपालिकाले समेत सामुदायिक विद्यालयमा बिदा दिएका छन् । वर्षा नहुँदा कञ्चनपुरमा दिउँसोको तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुग्ने गरेको छ । दिउँसोको बेला बाह्य क्षेत्रमा हिँड्डुल गर्नसमेत निकै अप्ठेरो हुने गरेको छ । गर्मीका कारण बजार क्षेत्रमा हुने चहलपहलमा समेत निकै कमी आएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com