Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बलात्कारी बाबु जेल चलान, नाबालिग गुराँसकी आमालाई आफन्तले पारे हैरान

काठमाडौं २ चैत । केही समय पहिलाको कुरा हो दैलेखकी १७ वर्षीया गुराँस नाम परिवर्तन आफ्ना किताब कापी र लुगा हालेको झोला बोकेर घरबाट निस्किन्। उनले घर छोड्दा एघार कक्षाको परीक्षा चल्दै गरेको थियो।

आमालाई साथीको घरमा पढ्न जाने भनेर भनेकी थिइन । आफैलाई भने तीन वर्षदेखि आफूमाथि भएको बलात्कार अब म सहन सक्दीन भनेकी थिइन ।
यो कुरा उनले कसैलाई भन्न सकेकी थिइनन्। त्यसैले उनले घरबाट सकेसम्म टाढा बस्ने बाटो उचित देखेकी थिइन्।

सधैँ साथीको घरमा बस्न थालेपछि उनकी आमा पिरमा परिन्। साथीकैमा बसे पनि गुराँस बेलाबेला घर आउँथिन्। त्योबेला आमाले रोक्न खोज्थिन्। गुराँस सुरुसुरूमा अटेरी गरेर साथीकैमा फर्किन्।

गएको हप्ता गुँरासकी एक संरक्षणकर्ता मानवअधिकारकर्मी ‘घरमा बस्नै पर्छ कि भन्ने डर भएपछि गुराँसले आमालाई सबै कुरा सुनाइछन्।

गुराँस नौ कक्षामा पढ्थिन्। अचानक एक दिन घरमा कोही नभएको समयमा बुबाले उनको शरीरका भित्री अंगहरूमा हात लगाए। त्यो दिन उनी झस्किन्। यसपछि बाबुले घरमा कोही नभएको वा एकान्तको मौका पारेर उनको शरीर छाम्न थाले। गुराँसले साहस जुटाएर प्रतिवाद गरेकी थिइन्। तर उनका बाबुले उल्टै यस्तो त सामान्य हो, जसले पनि गर्छ भनेर चुप लगाउन खोजे।

केही समयपछि एकदिन बलात्कार नै गरे। यो कुरा पनि कसैलाई नभन्नू, भने मारिदिन्छु भनेर धम्क्याए।

‘उनले कहिल्यै नसोचेको घटना भयो, बुबाले अरूलाई सुनाए मार्ने धम्की दिएपछि के गर्ने भन्ने मेसो नै पाइनन्,ती अधिकारकर्मीले भनिन् ‘तीन वर्षपछि बल्ल उनले आमालाई सुनाएकी रहिछन्।

तीन वर्षदेखि आफ्नी छोरी बाबुको बलात्कारमा परेको कुरा सुनेर आमाको अनुहार निलो भयो, छाँगाबाट खसेझैँ भयो

उनकी आमालाई यस्तो कुरा प्रहरीकहाँ लैजानु पर्छ भन्ने थाहा भएन। उल्टै बेइज्जत हुने डर लाग्यो। तर उनी पतिसँग दिनहुँ झगडा गर्न थालिन्। एक कान दुई कान हुँदै कुरा छरछिमेकमा पनि पुग्यो। केही छिमेकीले कुरा गोप्य राख्न र घरको कुरा घरमै मिलाउन सुझाब दिए।

‘घरमा मेरै कारणले झगडा पर्न थाल्यो। गाउँमा पनि सबैले थाहा पाए। म घर फर्कें तर गाउँमा मलाई हेर्ने नजर पनि फरक भयो। सबैले अचम्मका आँखाले हेर्थे खासखुस कुरा गर्थे,’ सहयोगी मानवअधिकारकर्मीले गुराँसलाई उद्धृत गरिन्, ‘फेरि एकजोर कपडाका भरमा घर छोडेर साथीकोमा गएँ।’

उनीमाथि भएको घटना घर र छिमेकमा मात्रै सीमित रहेन, केही मानव अधिकारकर्मीहरूकोमा पनि पुग्यो। उनीहरूले गुराँसलाई संरक्षण दिएर सुर्खेत लगे। त्यहाँ कानून व्यवसायी र मानव अधिकारर्मीहरूसँग कुरा भयो।

अन्ततः गुराँस अपराधी बाबुविरूद्ध न्यायका लागि अदालत जाने निर्णयमा पुगिन्। सुर्खेतको संगतले उनलाई यस्तो आँट दिएको थियो।

गुराँसकी आमा मुद्दामामिलामा नजाने मनस्थितिमा थिइन्। घरतर्फका आफन्तहरूले उनलाई मुद्दामा नजान दबाब दिएका थिए। यस्तो दबाब बेवास्ता गरेर नाबालिग गुराँस अघि बढिन्। एउटा गैरसरकारी संस्थाको सहयोगमा आवासीय संरक्षण पाइन्।

गत मंसिर ९ गते प्रहरीमा उजुरी दर्ता भएको थियो। उसै दिन प्रहरीले बालात्कारी बाबुलाई पक्राउ गर्यो। फटाफट मुद्दा अघि बढ्यो। यही फागुन ९ गते दैलेख जिल्ला अदालतले अपराध ठहर गर्दै २५ वर्ष जन्मकैद सुनाएको छ। त्यसमाथि आफ्नै छोरीमाथि बलात्कार गरेको भन्दै १० वर्ष कैद थप गरेको छ। यसरी उनलाई जिल्ला अदालत दैलेखले ३५ वर्षको कैद सजाय हुने फैसला गर्यो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com