स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत जित्ने दावी
चैत १ काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका हुन । आज पार्टी निकट अनेमसंघको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका छन्।
हामी एक्लै लड्न सक्छौ। यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गरे ।
अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई तथाकथित बुद्धिजीवीको संज्ञा दिएका छन् । उनले भुसालको नामै नलिई तथाकथित बुद्धिजीवीहरुले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाएका छन्। ‘नेकपा एमालेले कसरी जित्न सक्छ प्रगतिशिल शक्तिले कसरी जित्न सक्छ कुनै कुनै तथाकथित बुद्धिजीवीले लेख्छन्– कम्युनिस्टहरु मिल्ने कि समाप्त हुने भनेर’, ओलीले भने, ‘मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ रे माधव नेपालको गुटसँग मिलेन भने एमाले समाप्त हुन्छ रे यो माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।’